प्रदेश २ मा एकैदिन थपिए ८३ कोरोना संक्रमित, सर्लाहीमा मात्रै ७४ जना


जनकपुरधाम । प्रदेश २ मा आज आइतबार पनि ८३ कोरोना संक्रमित थपिएका छन्। योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४९ पुगेको छ।  सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले पछिल्लो २४ घण्टामा सबभन्दा बढी सर्लाहीमा ७४ जना कोरोना संक्रमित थपिएको बताए। उनका अनुसार सिरहामा २ जना र महोत्तरीमा ५ जना संक्रमित समेत थपिएका छन्। यस्तै धनुषा र रौतहटमा पनि १/१ जना संक्रमित फेला परेका ‌हुन्।

सिरहाको भगवानपुर क्वारेन्टाइनमा रहेका २ व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ। यस्तै जनकपुर क्वारेन्टाइनमा रहेका १ जना, महोत्तरीको जलेश्वरका ४ जना र बर्दिबासका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अन्य संक्रमितको विवरण खुलाएको छैन।

नयां संक्रमित सबै फरक फरक मितिमा भारतको विभिन्न सहरबाट फर्केकाहरु छन्। पछिल्लो समय भारतबाट स्वदेश फर्किनेको संख्या बढेसँगै कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ। संक्रमित मध्ये २ सय ३ जनाले कोरोनालाई पराजित गरिसकेका छन्। पछिल्लो २४ घण्टामा ४४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका मन्त्रालयका सचिव घिमिरेले जानकारी दिए।

प्रकाशित : २०७७ जेष्ठ २५, आईतवार १६:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ