भाडादर स्वीकृत गराएर दूतावासले विदेशी एयरलाइन्समार्फत ‘उद्धार’ गर्नसक्ने


काठमाडौं । सरकारले अब विदेशी एरलाइन्सलाई पनि अनुमति लिएर नेपाली कामदारको उद्धार गर्न दिने भएको छ । त्सम्बन्धित देशमा रहेका नेपाली दूतावासले कामदारको उद्धारका लागि सम्बन्धित देशका एयरलाइन्ससँग वार्ता गरेर चार्टर्ड उडान तय गर्न सक्ने भएका छन् ।

कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को पछिल्लो निर्णयअनुसार नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई मात्र कामदारको उद्धारका लागि चार्टर्ड उडान गर्न पाउने नियम हटेको छ ।

ओमानको दूतावासले सलाम एयरमार्फत सरकारले तोकेको भन्द्या आधा सतोमा उद्धार गर्ने तय गरेपछि सरकारले अन्य देशका दूतावासलाई पनि यस्तो बाटो खुला गरिदिएको छ । नेपाली एयरलाइन्सबाट हुने चार्टर्ड उडानमा चर्को भाडा तय भएपछि सरकारको आलोचना भइरहँदा नयाँ निर्णय आएको हो । विदेशमा रहेका नेपाली दूतावासहरुले नियमित उडान खोल्दा कामदार सस्तोमा नेपाल आउन पाउने भन्दै सरकारलाई सुझावहरु दिएका थिए ।

अब सरकारले हालको असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्वन्धी आदेश, २०७७ को व्यवस्था बमोजिम नेपाल आउने हवाई उडानको सम्बन्धमा सरकारले पुरानो व्यवस्था सच्याउँदै नयाँ व्यवस्था गरेको छ ।

सीसीएमसीको निर्णयअनुसार अब स्वदेश फर्काउन प्राथमिकतामा परेकामध्ये तत्काल उद्धार गर्नुपर्ने अवस्थामा रहेकाहरुलाई नेपाल पठाउन सम्बन्धित मुलुक वा कम्पनीबाट खर्च व्यहोर्ने अवस्थामा बाहेक नियोग रहेको देशको विमान सेवाका जहाज चार्टर गर्न सक्ने व्यवस्था गरिएको छ ।

नियोगले वायुसेवाबाट प्रस्तावित प्रतिव्यक्ति भाडा दर र यात्रु सूचीसहित परराष्ट्र मन्त्रालयमार्फत सीसीएमसीमा पठाउनुपर्नेछ । सीसीएमसीले उक्त सूची सिफारिससहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउनेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त सिफारिस र प्राप्तभाडा दर उपयुक्त रहे नरहेको हेर्नेछ । उचित देखिएमा उडान अनुमतिको स्वीकृतिसहित नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाउने व्यवस्था गरिएको छ ।

प्राधिकरणले उडान अनुमति प्रदान गरेपछि ती विमान नेपाल आउन पाउनेछन् ।

मन्त्रालयले चार्टर प्रयोजनका लागि स्वीकृत गरेको अवधिभित्र सम्बन्धित नियोगबाट स्वीकृत यात्रु सूचीभित्रबाट सोझै यात्रु नेपाल ल्याउन सकिने भएको छ ।

ती विमानले फकर्ँदा नेपालबाट चार्टर गरी लैजान वा नेपालबाट यात्रु चार्टर गरी लैजान आउने क्रममा नियोगको प्राथमिकताको सूचीमा रहेका विदेशमा रहेका नेपाली यात्रुलाई नेपाल ल्याउन समेत पाउने गरी स्वीकृत दिन सकिन व्यवस्था गरिएको छ । यसअघि यस्तो व्यवस्था नहुँदा अष्ट्रेलियाबाट विमान फर्किँदा ११ जना मात्रै पहुँचवाला यात्रु लिएर विमान फर्किन परेको थियो ।

स्वीकृति माग गर्दा नेपालबाट र नेपालमा ल्याउने यात्रुलाई के कति दर रेटमा चार्टर गर्न लागेको हो सो दर समेत प्रस्ताव गर्नुपर्ने नियम बनाइएको छ । एक पटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दर प्रस्ताव गरी सकेको भए पुनः सोही रुटका लागि नयाँ प्रस्ताव गर्न आवश्यक पर्ने नपर्ने व्यवस्था पनि गरिएको छ ।

संक्रमण नभएको प्रमाण भएका व्यक्तिलाइ मात्र उद्धार उडानबाट फर्किने अनुमति दिइनेछ । तर, कोरोनाको परीक्षण सम्भव नभएको अवस्थामा उनीहरुलाई नेपाल ल्याएर छुट्टै क्वारेन्टायनमा राख्ने व्यवथा गर्न सकिने व्यवस्था गरिएको छ ।

सरकारले नेपालस्थित विदेशी कूटनीतिक नियोग, संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय संघ संगठनका प्रमुख लगायत कर्मचारी र परिवारका निकट सदस्यहरुलाई संस्थागत सिफारिसका आधारमा प्रचलित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रोटोकल पालना गर्ने गरी आवत जावत गर्न दिने निर्णय पनि गरेको छ ।

प्रकाशित : २०७७ जेष्ठ ३२, आईतवार १७:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ