नक्कली रुपैया राखेको बोरा भेट्यो, एक भारतीयसहित ३ जना प्रहरी फन्दामा


कलैया : बाराको महागढीमाइ नगरपालिका २ बरियापुरबाट ठूलो परिणाममा नक्कली नेपाली र भारतीय रुपयाँका नोटसहित तीन जनालाई पक्राउ गरिएको छ।

नक्कली रुपैयाँ तथा लागु औषधको कारोबार हुँदैछ भन्ने विशेष सूचनाका आधारमा एकजना भारतीय नागरिक र दुई जना नेपाली नागरिकलाई पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्युरोले जानकारी दिएको छ।

ब्युरोका अनुसार भारत मोतिहारीका २५ वर्षीय सुधिरकुमार कुशवाह, बारा सिम्रनगढ ४ का २६ वर्षीय मनोज साह तेली र बाराकै आदर्श कोटवाल ६ का ३० बर्षिय नरेन्द्रप्रसाद कुशवाह पक्राउ परेका हुन्।

उनीहरूका साथबाट नक्कली नेपाली रुपैयाँ १५ लाख ४४ हजार ४ सय र नक्कली भारतीय रुपैयाँ १ लाख ८३ हजार ६ सय ५० रुपैयाँ बरामद गरिएको ब्युरोले जनाएको छ।उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बोरामा हालेको अवस्थामा उनीहरूबाट नक्कली नेपाली रुपैयाँ एक हजारका १ हजार ४ सय ७० वटा र १ सय का ७४४ वटा नोट फेला पारिएको थियो।

त्यस्तै नक्कली भारतीय रुपैयाँ ५ सयका २ सय ९७ वटा र ५० का ७०३ वटा फेला पारिएको ब्युरोले जनाएको छ।‌ उनीहरूबाट ना. ५४ प ३८०५ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित : २०७७ श्रावण ४, आईतवार ११:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ