भोलिबाट गाडी चल्ने कुरा झुठो, छलफल मात्र चल्दैछ


काठमाडौं : नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भोलिबाट सार्वजनिक सवारी साधन चल्ने कुरामा सत्यता नरहेको स्पष्ट पारेका छन् ।

उनले सवारी साधन सुचारु गर्ने विषयमा छलफल मात्र भइरहेको बताएका हुन् । कोरोना भाइरसको महामारीबीच यातायात सञ्चालन गर्ने कार्यविधिमा छलफल भइरहेको उनको भनाई छ ।

‘यातायात मजदुरको सुरक्षा, यात्रुको सुरक्षासहित कोरोना भाइरसको महामारीबीच कुन तरिकाले यातायात सञ्चालन गर्ने भन्नेबारे कार्यविधिमा छलफल भइरहेको छ’, उनले भने, ‘यातायात सञ्चालन हुने पक्का भएपछि हामी आफै पत्रकार सम्मेलन गरेर जानकारी दिन्छौं ।’

आइतबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई उदृत गर्दै सोमबारबाट सार्वजनिक सवारी साधन सुचारु हुने समाचार बाहिर आएका थिए ।

प्रकाशित : २०७७ श्रावण ४, आईतवार १५:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ