महोत्तरीमा क्रसर उद्योगको बदमासीले १६ वर्षीय बालकको मृत्यु


महोत्तरी : क्रसर उद्योगले जथाभावी बनाउने ठूलाठूला खाल्डा ज्यानमारा बन्दै गएका छन् । महोत्तरीको बर्दिवास-१४ मा आइतबार यस्तै खाल्डोमा परेर एक बालकको मृत्यु भएको छ ।

बर्दिवास-१४ कै अशोक भनिने आशुतोष मिश्रका १६ वर्षीय कन्हैया भनिने रोशन मिश्रको गहिरो खाल्डोको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय महोत्तरीले जनाएको हो । दुई अन्य साथीसँग नुहाउन गएका मिश्र गहिरो खाल्डोको पानीमा चिप्लिएर डुबेका हुन् ।

उनलाई तत्काल उद्धार गरी बर्दिवास–१४ कै शुभस्वस्तिक अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए ।

शव प्रादेशिक अस्पताल जनकपुरमा परीक्षण गरेर अन्तिम संस्कारका लागि परिवारजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । मिश्रसँगै नुहाउन गएका अन्य दुई किशोर भने सुरक्षित छन् ।

बालकको मृत्युसँगै जथाभावी खाल्डा बनाउने क्रसर उद्यमीविरुद्ध कारवाही हुनुपर्ने मृतक किशोरका आफन्तले बताएका छन् । रातु नदीको नदीउकास क्षेत्रमा क्रसर उद्यमीले बनाएका ठूलाठूला खाल्डामा परी बर्सेनि ज्यान जाने गरेको छ ।

यसअघि गत असारमा यस्तै खाल्डोमा परेर छिमेकको भङ्गाहा–४ मा र गत वर्ष बर्दिवास–९ पशुपतिनगरमा एक/एक जनाको मृत्यु भएको थियो ।

नदीउकास क्षेत्रमा जथाभावी उत्खनन गर्न दिन नहुने र तीन फिटभन्दा गहिरो खाल्डो खन्न नपाइने प्रावधान भए पनि यहाँ २५/३० फिट गहिरा खाल्डा खनेर नदीजन्य पदार्थ (बालु–ढुङ्गा) निकालिने गरिएको छ ।

यससम्बन्धमा बर्सेनि सम्बन्धित नियमन गर्ने निकायबाट निरीक्षण, अनुगमन हुने गरे पनि मापदण्ड नाघेर खाल्डा खनेबापत कुनै क्रसर उद्यमी कारवाहीमा भने नपरेका यहाँका सर्वसाधारणको गुनासो छ ।

– रातोपाटी/रासस

प्रकाशित : २०७७ श्रावण ५, सोमबार १२:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ