कोरोनाले बाराको देवताल संकटमा, हिँड्डुल गर्न रोक, बजार पनि बन्द


बारा : स्थानीय प्रशासनले बाराको देवताल गाउँपालिकामा सोमबारदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।

जिल्लामा समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि निषेधाज्ञा जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ । सो गाउँपालिकामा जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारण गरी सोमबार ४६ जनामा कोरोना पुष्टि भएको हो । जिल्लामा सयौं कोरोना संक्रमितबाट शून्य झरेको थियो ।

तर, सोमबार एकाएक समुदायमा कोरोना फैलिएको हो । एम्बुलेन्स र औषधि पसल सञ्चालन लगायत अतिआवश्यक खाद्यन्न ढुवानी बाहेक हिँड्डुलमा रोक लगाइएको छ । यसैगरी सो गाउँबाट आवतजावत समेत बन्द गरिएको छ ।

वडा कार्यालयहरुबाट दिइने सबै खालको सिफारिस लगायत अन्य सेवाहरु बन्द गरिएको छ । धार्मिक, साँस्कृतिक, विहेवारी, नगर्न गराउन र हाट बजार नलगाउन निर्देशन गरिएको छ ।

सो गाउँपालिकामा असार ३० मा ७४ जनाको स्बाब संकलन गरी नारायणी अस्पताल वीरगञ्जमा परीक्षण गर्दा ३५ पुरुष र ११ महिलामा कोरोना पोजेटिभ देखिएकोले अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।

संक्रमित हुनेहरुमा स्वास्थ्यकर्मी १६, जनप्रतिनिधि ९, पालिकाको कर्मचारी ६ जना र बाँकी स्थानीय हुन् । ‘कुनै संक्रमितलाई लक्षण देखिएको छैन्,’ एक संक्रमितले भने, ‘गाउँकै क्वारेन्टिनलाई आइसोलेशन बनाएर बसेका छौ । कसरी सर्‍यो थाहै भएन ।’ 

प्रकाशित : २०७७ श्रावण ५, सोमबार २०:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ