राजविराज फेरी पूर्ण रुपमा लकडाउन, घरमै बस्न अपिल


राजविराज : समुदायमा कोरोनाको संक्रमण फैलिन थालेको भन्दै सप्तरीको राजविराज नगरपालिकाले साउन ७ गतेदेखि नगरपालिका क्षेत्रमा पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख शम्भुप्रसाद यादवले मंगलवार विज्ञप्ति जारी गर्दै बुधबारबाट अत्यावश्यक सेवा बाहेक सम्पूर्ण बजार, पसल, ब्यवसाय, सरकारी तथा गैर सरकारी कार्यालय र वित्तीय संस्थाहरु बन्द गरिने बताए ।

लकडाउनको पूर्ण पालना गर्न उहाँले सबैमा आग्रह समेत गरे । अर्को सूचना जारी नभएसम्म पूर्ण लकडाउनको पालना गर्न नगरप्रमुख यादवले आग्रह गरे । १३ दिन अघि भारतबाट फर्किएका एक वृद्धको कोराना संक्रमणपछि मृत्यु भएको र उनको परिवारमा सबैलाई संक्रमण पुष्टि भएको थियो ।

उनीहरुको सम्पर्कमा रहेकाहरुलाई पनि संक्रमण पुष्टि हुन थालेपछि पूर्ण लकडाउन गर्नुपर्ने अवस्था सृजना भएको नगर प्रमुख यादवले बताए ।

मृतकका परिवारसँग सम्पर्कमा गएका उनका छिमेकी एक दम्पतिलाई संक्रमण पुष्टि भएको र ती दम्पतिका बैंकमा काम गर्ने छोरीको रिर्पोट समेत शंकास्पद आएपछि राजविराजमा संक्रमण समुदायस्तरमै फैलिएको हो । राजविराजस्थित सनराइज बैंकको शाखा मंगलबारबाटै बन्द छ ।

प्रकाशित : २०७७ श्रावण ६, मंगलवार १९:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ