जनकपुरमा पेस्तोल देखाएर रकम लुटेको भनी नाटक गर्ने ३ जना पक्राउ


जनकपुरधाम : धनुषाको यदुकोहास्थित टिभिएस सो-रुममा कार्यरत एक कर्मचारीले अपरिचित व्यक्तिले पेस्तोतोल देखाएर रकम लुटेको नाटक गरेको रहस्य खुलेको छ ।

कमला नगरपालिकाका २ का २० वर्षीय धिरज कुमार अधिकारीले दुई साथीसंग मिलेर लुटिएको नाटक गरी रकम बाडफाड गर्ने सोचेका थिए । तर प्रहरीले कर्मचारी अधिकारी, उनका दुई साथी सुजित मण्डल र छोटु झालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा लुटिएको नाटक गरेको रहस्य खुलेको हो ।

जनकपुर उपमहानगर १६ घर भएका २१ वर्षीय झाको घरबाट लुटेको भनिएको ३ लाख ७६ हजार रुपैया समेत बरामद भइसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए । माटोको भाडोमा लुकाएर राखेको अबस्थामा झाको घरबाट रकम बरामद भएको उनको भनाई छ ।

मोटरसाइकलको सो-रुमबाट जनकपुर बैंकमा राख्न ज १० प ९७ नम्बरको मोटरसाइकल लिएर जाने क्रममा जनकपुरकै जलाद पुल नजिकैबाट ३ लाख ७६ हजार रुपैया अपरिचित ब्यक्तिले पेस्तोल देखाएर लुटेर भागेको कर्मचारी अधिकारीले प्रहरीलाई जानकारी गराएका थिए ।

लुटिएको योजना बनाएर रकम बाडफाड गर्ने रहस्य खुलेपछि कर्मचारी अधिकारी, झा र शहिदनगर नगरपालिकाका ७ का मण्डलमाथि कानुन बमोजिम कारवाही अगाडी बढाएको डिएसपी कार्कीले जानकारी दिए ।

प्रकाशित : २०७७ श्रावण ८, बिहीबार १८:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ