विमलेन्द्र निधिलाई सभापति बनाउने देउवाको आश्वासन ! निधि कसरी अघि बढे ?


काठमाडौं : नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई हालका सभापति शेरबहादुर देउवाले नै उत्तराधिकारी बनाउने आश्वासन दिएको नेताहरूले बताएका छन् ‌।​ निधि १४ औं महाधिवेशनबाट पार्टी सभापति बन्ने चुनावी दौडमा छन् ‌।​

निधिले पार्टी नेतृत्व लिनका लागि देउवाको निकटता लगभग तोडिसकेका छन्‌ । यसअघि नै निधिले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग आफू सभापति उठ्न लागेकाले सहयोग गर्न भनेका थिए । तर, देउवाले १५ औं महाधिवेशनमा सभापति बनाउने आश्वासन दिएका छन् ‌। देउवाले यस्तै आश्वासन १३ औं महाधिवेशनमा पनि दिएको निधिनिकट नेताहरू बताउँछन्‌ ।

१३ औँ महाधिवेशनमा देउवालाई सभापति बनाउन निधिले नै महत्वपूर्ण भूमिका लेखेको देउवानिकट एक नेताले बताए । ‘विमलेन्द्रले १३ औँ महाधिवेशनमा कुनै पनि शर्त नराखी देउवालाई सभापति बन्न सघाएका हुन्‌,’ स्रोतले भन्यो, ‘त्यतिबेला देउवा सभापति हुने सम्भावना नै थिएन,’ ती नेताले भने, ‘निधिले अर्जुननरसिंह केसीहरूलाई देउवा गुटमा नल्याएको भए, उताका गुटका भनेर चिनिएका, तर भोट देउवालाई हाल्ने वातावरण नबनाएको भए कसरी सभापति हुन्थे ?’

देउवाले चुनाव जित्न निधिको योजना सुनिसकेपछि १४औँ महाधिवेशनमा सभापति बनाउने वचन दिएका थिए । ‘निधिले आफ्नो योजना देउवालाई सुनाए, सोही योजनाअनुसार अर्जुननरसिंह केसीलाई आफ्नो गुटमा ल्याएपछि १४ औँ महाधिवेशनमा हाम्रो समूहबाट सभापतिको उम्मेदवार तपाइँ नै हो भनी देउवाले आश्वासन दिएका थिए,’ देउवाले भनेको स्मरण गर्दै तीन नेताले भने ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विमलेन्द्र निधि

कसरी अघि बढे निधि ?

निधि उमेरको हिसाबले ६५ वर्ष भए । आफूभन्दा धेरै कान्छा उमेरका नेताहरूले नेतृत्व दाबी गर्न थालेपछि उनी यसपाली देउवाको सामू बोल्न बाध्य भएको निधिनिकटकका नेताहरू दावी गर्छन्‌ ।

‘विमलेन्द्र दाइ सभापतिज्युको कति विश्वास पात्र हो भन्ने कुरा त विगतका सहकार्यले देखिएको छ,’ विमलेन्द्र निकट एक नेता भन्छन्, ‘बाँचुन्जेल म आफैँ चलाउँछु, तिमीहरू त मैले भनेको मान्ने मात्रै होभन्ने खालको प्रवृत्ति देउवामा देखिएपछि यसपाली विमलेन्द्र दाइले सभापतिको उम्मेदवार बन्ने तयारी गर्नु भएको हो । यसपाली उहाँ पछि हट्नुहुन्‍न ।’

साउनको २७ गते आफू निकटका नेताहरूसँगको छलफलमा पनि निधिले आफू कुनै पनि हालत सभापतिको उम्मेदवार हुने र ब्याक नहुने प्रतिवद्धता बताइसकेका छन् ‌। तयारीका लागि गत बिहीबार सभापति देउवालाई भेटेरै उनले आफू सभापतिमा उठ्न लागेको जानकारी गराएका छन्‌। संस्थापन इतरका नेतासँग पनि भेटघाट बाक्लो बनाएका छन् । ​

को हुन् निधि ?

कांग्रेस संस्थापकमध्येका एक नेता महेन्द्रनारायण निधिका छोरा हुन् विमलेन्द्र । उनी कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघको संस्थापक सदस्य भएर कांग्रेसको राजनीतिमा उदाएका थिए । त्यसो त कांग्रेसका महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहलाई जस्तो बाबुको नामबाट कांग्रेसमा पहुँच बढाएको भन्ने आरोप विमलेन्द्रलाई लागेको छैन ।

निधिले एसएलसी नै जेलबाट दिएका हुन् । २०३६ सालदेखि नै निधि कांग्रेसको केन्द्रीय राजनीति वरपर नै थिए। कांग्रेसका संस्थापक वीपी कोइरालाकै प्रस्तावमा उनी २३ वर्षकै उमेरमा नेविसंघको अध्यक्ष निर्वाचित भएका थिए । त्यसअघि आठ वर्ष (२०२८–२०३६) सम्म नेविसंघमा शेरबहादुर देउवा अध्यक्ष थिए ।

इलामका बेनुपराज प्रसाईंलाई हराउँदै निधि अध्यक्ष बनेका थिए । त्यसबेला कांग्रेसका शीर्ष नेताहरू वीपी बाहेक अरु सबै प्रसाईंको पक्षमा थिए। २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा धनुषा ४ बाट निधि विजयी भएका थिए । कांग्रेसको आठौँ महाधिवेशनमा केन्द्रीय सदस्य उठेका उनी पराजित भए । उनलाई भीमबहादुर तामाङले हराएका हुन् । तर, नवौँ महाधिवेशनमा केन्द्रीय सदस्य भए। कांग्रेसको नवौँ महाधिवेशन २०५३ सालमा भएको थियो ।

२०५६ सालको निर्वाचनमा उनी पराजित भए । २०५९ सालमा भने चुनाव जितेर आए र देउवाकै क्याबिनेटमा शिक्षामन्त्री बने। उनले पार्टी विभाजन हुँदा पनि देउवालाई साथ दिए । पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा निधि धनुषा तीनबाट निर्वाचित भए ।

दोस्रो चुनावमा उनले सरकारमा मन्त्रीको रुपमा प्रतिनिधित्व गर्ने मौका पाए । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकारमा निधि भौतिक योजना मन्त्री बने । त्यस्तै, नेकपाका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा पनि निधिले गृहमन्त्री चलाए ।

सभापतिका आकांक्षीहरू

कांग्रेसलाई यतिखेर महाधिवेशनको रन्कोले छोइसकेको छ। कांग्रेसका झण्डै एक दर्जन शीर्ष नेताहरू सभापति चुनिने दौडमा छन्‌ । कांग्रेसमा खास गरी तीन वटा गुट छन् । देउवा समूह, वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला समूह । यी तीनै नेता फागुनमा हुने १४ औँ महाधिवेशनमार्फत सभापति बन्ने गरी तयारीमा जुटेका छन् । वरिष्ठ नेता पौडेल समूहका मात्रै आधादर्जन भन्दा धेरै नेता सभापतिको आकांक्षी छन् ।

उता, देउवा समूहमा भने देउवाले आँटे अरु कसैले उनको विरुद्ध उत्रिने आँट गर्ने गरेका छैनन्‌ । तर यसपटक आफ्नै समूहका निधिले सभापतिमा इच्छा देखाएपछि देउवा केही दबाबमा छन्‌ । सिटौला समूहमा भने उनी आफैँ उम्मेदवार बन्न अरु कसैले छेकबारे लगाउने देखिन्न ।

  • थाहा खबर
प्रकाशित : २०७७ भाद्र १, सोमबार १५:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ