महोत्तरीमा खुलेयाम अबैध खुल्ला मदिरा बिक्रीवितरण, प्रशासन कमिशनको चक्करमा !


महोत्तरी : महोत्तरीका अधिकांश क्षेत्रमा व्यापक रुपमा खुला मदिरा बिक्रीवितरण भइरहेको छ। दिनदहाडै मदिरा सेवन गरी होहल्ला गर्नेहरूका कारण तमासा हुने गरेको छ ।

बर्दीबास नगरपालिकास्थित महत्वपूर्ण बजारका रूपमा रहेका हनुमानचौक बजार, पथलैया बजार, बिजलपुरा बजार, कृषिबजार प्रेमनगर र भंगहा नगरपालिकास्थित सितापुर बजारमा यसरी खुलेआम मदिरा बिक्रीवितरण हुने गरेको स्थानीय बताउँछन् ‌। स्थानीय प्रहरी प्रशासनले केहि चासो नदिँदा मदिरा बिक्रीवितरण तथा सेवन गर्नेको मनोबल बढ्दै गएको बर्दीबास नगरपालिकाका स्थानीय अगुवा भीमबहादुर आले मगरले बताए ।

मदिराकै कारण हरेक गाँउमा झगडा हुने गरेकाले तत्काल मदिरा नियन्त्रणका लागि पहल गर्नुपर्ने उनले बताए । प्रशासनिक प्रतिबन्धकै बीच लुकाइछिपाइ होटल, व्यवसायी, उत्पादक वा सेवाग्राही समेतले खुला मदिरा बेचेको, उत्पादन गरेको, ओसारपसार गरेको वा सेवनसमेत गरेको पाइएपनि प्रहरी प्रशासनले कुनै कारबाही गरेको छैन ।​

बर्दीबास नगरपालिकाका नगरप्रमुख विदुर कार्कीले अबको केही दिनमै मदिरा बेचबिखन गर्न नदिन कडा अनुगमन गर्ने बताएका छन्‌ । उनले भने, ‘यसअघि हामीले बारम्बार व्यवसायीहरूलाई मदिरा बिक्रीवितरण नगर्न आग्रह गरेका थियौं, अब अनुगमनलाई थप व्यवस्थित गर्दै कडाइका साथ अघि बढ्छौँ र नगरपालिकामा मदिरा नियन्त्रण गरिछाड्छौं ।’

उनले कोरोना भाइरसले गर्दा सोचे अनुरूप अनुगमन गर्न नसकिएको बताए ।

नगरपालिकाभित्र लाग्ने हरेक हाट–बजारमा खुला मदिरा बिक्रीवितरण भएपनि स्थानीय प्रहरी प्रशासनले यसमा ध्यान दिएको छैन । जहाँ पायो त्यहीँ मदिरा बिक्रीवितरण गरेको पाइएपनि नगरपालिकाले पनि खासै ध्यान दिएको छैन ।

बजारमा खुला मदिरा बोतलमा राखेर बेच्ने गरेको पाइन्छ। घरमा उत्पादन गरि बजारमा ल्याई बेच्ने र आफैँले बनाएको मदिराले कुनै किसिमको नकारात्मक असर नगर्ने एक मदिरा बेच्ने महिलाले बताइन् ।

२०७६ फागुनमा जनकपुरधाममा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ लाई खुला रक्सीमुक्त बनाउने घोषणा गरेका थिए । पहिलो चरणमा जनकपुरधामलाई खुला मदिरा मुक्त बनाइने र पछि क्रमशः प्रदेशलाई नै खुल्ला मदिरामुक्त गरिने उनको भनाई थियो ।

मुख्यमन्त्रीले यस्तो योजना सार्वजनिक गरेको दिएको तीन साता नबित्दै धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको रमदैया र जनकपुरधाममै विषाक्त मदिरा सेवनका कारण २० जनाभन्दा धेरैको मृत्यु भएको थियो । त्यस्तै, पछिल्लो पटक महोत्तरीमा दर्जनौं व्यक्तिको खुला मदिरा सेवनकै कारण मृत्यु भएको थियो ।

‘मान्छेको मृत्यु भएपछि मात्रै बहस गर्नु र मुद्दा उठाउनु बिडम्बना हो,’ प्रदेश–२ का प्रदेशसभा सांसद शारदादेवी थापा भन्छिन्, ‛हामीले रक्सीमुक्त प्रदेश हुनुपर्छ भनेर जोडदार रुपमै माग उठाएका छौं, तर सुनुवाई नभएको अवस्था छ ।’

प्रकाशित : २०७७ भाद्र १, सोमबार १९:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ