मिर्चैयाका डिएसपी जैसवार, तीन प्रहरी जवान र एक थुनुवामा कोरोना पुष्टि


जनकपुरधाम : सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपीसहित पाँच जनामा कोरोना पुष्टि भएको छ ।

डिएसपी सन्तुलाल जैसवार, तीन जवान र एक थुनुवामा कोरोना पुष्टि भएको मिर्चैया नगरपालिकाले जनाएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनीहरूमा कोरोना पुष्टि भएको हो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले डिएसपीसहित चारै संक्रमितलाई मापदण्ड अनुसार प्रहरी कार्यालयकै आइसोलेसनमा राखिएको जानकारी दिए । थुनुवालाई भने अलग आइसोलेसनमा राखिएको छ ।

पछिल्लो समय सिरहामा समेत तीव्र गतिमा कोरोना संक्रमण फैलँदै गएको छ । सिरहामा हालसम्म २८० जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये २०९ जना डिस्चार्ज भइसकेका छन् । अहिले ५५ जना आइसोलेसन र ५४४ जना होम आइसोलेसनमा बसेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सिरहाको लहान, गोलबजार, मिर्चैया, कर्जन्हा, सिरहा नगरपालिका लगायतका स्थानीय तहले निषेधाज्ञा जारी गरेको छ । संक्रमण समुदायमा फैलिसकेकाले उच्च सतर्कता नअपनाए आगामी दिनमा अवस्था भयावह हुने चिकित्सकहरु बताउँछन् ।

प्रकाशित : २०७७ भाद्र ३, बुधबार १०:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ