लहान : अन्यायमा परेकी मुन्नी खातुनमाथि ससुराले उल्टै मुद्दा हालेपछि…


लहान : विवाह भएलगत्तै पति, सासू र ससुराबाट लगातार हिंसाको खेप्दै आएकी २६ वर्षीया महिला माइतीमा आश्रय लिएर न्यायको लागि भौंतारिदै छिन् । लहान नगरपालिका ९ खुट्टीपारि ससुराली भएकी मुन्नी खातुनले साढे तीन वर्षीया छोरीलाई बोकेर कहिले समाज, कहिले वडा कार्यालय त कहिले न्यायिक समितिमा धाउँदा धाउँदै मानसिक तनाव झेल्न बाध्य छिन् ।

पति र ससुराले ‘गाउँसमाज, वडा कार्यालय र नगरको न्यायिक समितिको निर्णय पनि उल्लंघन गरेपछि नाबालिका छोरीको लालनपालन गर्नसमेत समस्या भइरहेको मुन्नी बताउँछिन् । २०७३ जेठ १९ गते बुधबारका दिन मुस्लिम परम्परा अनुसार लहान ९ का मुर्तुजा मियाँका छोरा मो. सदामसँग मुन्नीको विवाह भयो । डेढ महिनाको गर्भवती अवस्थामा उनलाई घरबाट निकाला गरियो ।

विहे अगाडीदेखि नै पति सदाम कोल्टेबासकी एक केटीसंग अनैतिक सम्बन्ध राख्दै आएको र विवाह पश्चात पनि सोहि केटीसंग अनैतिक सम्बन्ध राखी रहेको थाहा पाएपछि पटक–पटक सम्झाए । तर उनले मुन्नीलाई ‘मेरो आमा–बुवाले घरको काम गर्न र दाइजोको लागि विवाह गराएको हो’ भन्दै कैयौँपल्ट कुटपिट गरे ।

मुन्नी भन्छिन्, ‘विवाह भएको हप्ता दिन नबित्दै प्रेमिकालाई लिएर घुम्न जाने, रातभर घरमा नआउदैन्थ्यो ।’ कहा हुनुहुन्थ्यो भनि सोध्दा पटक पटक कुटपिट गर्दै ज्यान नै लिने प्रयास गरेपछि डेढ महिनाको गर्भवती हुँदादेखि नै माइतीमा आश्रय लिएर बस्दै आएकी छु,’ उनले सुनाइन् ।

उनले भनिन्, ‘गाउँसमाज, वडा कार्यालय र न्यायिक समितिले गरेको निर्णय मान्छु भन्दै एउटा पासपोर्ट मसंग हुँदा हुदै अर्को पासपोर्ट बनाएर विदेश भागेपछि मेरो र साढे तीन वर्षकी छोरी मुस्कानको हेरचाह, पालनपोषण माइतीले गर्दै आएको छ ।’

लहान ५ माइती भएकी मुन्नीको आग्रहमा ०७५ भाद्र १३ गते वडाध्यक्ष सुलेमान मियाँ अन्सारीको अध्यक्षतामा सम्पन्न स्थानीय मुस्लिम अगुवाहरूको छलफलले नाबालिका छोरीको लालनपालन र विवाहमा भएको खर्चसहित आठ लाख रुपैयाँ फिर्ता गर्ने द्विपक्षीय लिखित सहमति भएको थियो ।

विवाहमा माइती पक्षबाट पाएको मोटरसाइकल, सरसामानसहित रकम फिर्ता गर्ने सहमतिलाई सदाम र उनका बाबुले उल्लंघन गरेपछि खातुन वडा कार्यालयले गरेको निर्णय कार्यान्वयन र सम्बन्धविच्छेद सहितको माग लिएर न्यायिक समितिमा गएकी थिइन् । न्यायिक समितिले पनि वडास्तरमा गरिएको निर्णय कार्यान्वयनका लागि २५ भदौ ०७५ मा पुनः वडा कार्यालयलाई पत्राचार गरेको थियो ।

‘स्थानीय समाज, न्यायिक समितिले गरेको निर्णय पनि लत्याएको छ,‘ बुवा आमाले विहेमा करिब २३ लाख जति खर्च गर्दा पनि पतिको अरुसंग अनैतिक सम्बन्ध रहेका कारण म र नाबालिका छोरी घरको न घाटको भयौँ’, खातुनले सुनाइन ।

नाबालिका छोरीसहित आफ्नो बिचल्ली भएपछि वडा कार्यालय र न्यायिक समितिले गरेको निर्णय कार्यान्वयनको माग गर्दै आएकी खातुनसहित माइतीघरका बाबु मो. नसिर, आमा नाजो खातुन, दाजु फिरोज शेख, वडा अध्यक्ष सुलेमान मियाँ अन्सारी लगायत समाजका अगुवाहरु विरुद्ध झुटा आरोपहरु लगाउदै उनीहरु विरुद्ध ससुरा मुर्तुजाले सिराहा जिल्ला अदालतमा अन्तरिम आदेशसहितको निषेधाज्ञाको मुद्दा हालेका छन् ।

मियाँले आफ्नो दैनिक कामकाजमा अप्ठ्यारो पार्ने गरेको, गालीगलौज गर्ने, कुटपिट गर्न खोजेको आरोप लगाउँदै मुद्दा हालेका हुन् । अदालतका न्यायाधीश अनिलकुमार शर्माको एकल इजलासले गत २९ साउनमा मुन्नीसहित सबै जनालाई १५ दिनभित्र लिखित जवाफ लिएर स्वयं वा कानुनले तोकेबमोजिमको आफ्नो प्रतिनिधिमार्फत अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

प्रकाशित : २०७७ भाद्र ३, बुधबार १७:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ