प्रदेश २ सरकारलाई कोरोना खर्चको विवरणसहित उपस्थित हुन अदालतको आदेश


पर्सा : प्रदेश नम्बर २ सरकारलाई कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी भएका कामहरूको विवरण बुझाउन उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालतजनकपुरको वीरगन्जस्थित अस्थायी इजलामा अधिवक्ता सुधिरकुमार कर्णले दायर गरेको रिट उपर सुनवाइ गर्दै ७ भदौसम्म कोरोना नियन्त्रण सम्बन्धी साउन ३२ सम्म गरिएका मुख्य कामहरूको विवरण एवं सम्भावित कार्य योजनाको विवरणसहित उपस्थित हुन आदेश जारी गरेको हो ।

न्यायाधीश डिल्लीराज आचार्यको इजलासबाट रिट दायर भएकै दिन कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको कामको विवरण सहित उपस्थित हुन अल्पकालीन आदेश जारी गरेको थियो ।

तर अदालतको आदेशलाई प्रदेश सरकारले बेवास्ता गर्दै सरकारको तर्फबाट विवरणहरू पेश नभएपछि भाद्र १ मा न्यायधिशद्वय अब्दुल अजिज मुसलमान र रमेशकुमार पोखरेलको संयुक्त इजलासले ७ दिनभित्र सम्पूर्ण विवरण पेश गर्न आदेश जारी गरेको छ ।

अदालतबाट जारी अन्तरिम आदेशमा भनिएको छ, ‘यस अदालतबाट २०७७र४र१६ मा जारी भएको अन्तरिम आदेशानुसारका कार्यहरू एवं कोरोना नियन्त्रणसम्बन्धमा मिति २०७७ साउन ३२ सम्म गरिएका मुख्य मुख्य कामहरूको विवरण एवं तत् सम्बन्धि सम्भावित कार्य योजना विवरणका साथ मिति २०७७ भाद्र १ मा उपस्थित हुन आउनु भनी विपक्षीहरूको नाउँमा आदेश भएकोमा सो बमोजिम विवरण पेश हुन आएको देखिएन । तसर्थ यो आदेश प्राप्त भएको मितिले ७ दिन भित्र विपक्षीहरूबाट उल्लेखित विवरण यस अदालतमा अनिवार्य रुपमा पेश गर्नु गर्न लगाउनु ।

साथै पीसीआर टेष्टको दायरा बढाउनुका साथै कन्ट्याक्ट ट्रेसिङको कार्यलाई प्राथमिकताका साथ अघि बढाउन समेत अदालतले आदेश दिएको छ ।

निषेधाज्ञा कायम रहेको वर्तमान अवस्थामा आम नागरिकलाई दैनिक रुपमा आवश्यक पर्ने खाद्य सामग्री तथा तरकारी खरिद बिक्रिका लागि बिहान बेलुका निश्चित समय तथा ठाउँ निर्धारण गरी सुरक्षित बिक्रि वितरण गर्न आवश्यक सुरक्षा प्रबन्धसमेत मिलाउनका लागि पनि उच्च अदालतले प्रदेश सरकारलाई आदेश गरेको छ ।

प्रदेश नम्बर २ सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सामाजिक विकास मन्त्रालय लगायतलाई विपक्षी बनाउँदै कोरोना रोकथाम तथा नियन्त्रण तर्फ उदासीनता देखिएकोले अन्तरिम आदेशको माग गर्दै अधिवक्ता कर्णले साउन १६ मा रिट दायर गरेका थिए ।

सेतोपाटी

प्रकाशित : २०७७ भाद्र ३, बुधबार २०:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ