जनकपुर : साँसद र मेसुसँग गुहार मागे, तर उपचार नपाएर प्रमोदले ज्यान गुमाए


जनकपुरधाम : उपचार नपाएर धनुषामा एक युवकको ज्यान गएको छ । सबैला नगरपालिका २ का प्रमोद कुमार महतोको बुधवार साँझ ज्यान गएको हो ।

उनी मृगौलाका बिरामी थिए । लामो समयदेखि डायलासिस गराउँदै आएका थिए । मंगलबार पनि उनी प्रादेशिक अस्पताल जनकपुरमा डायलासिस गराउन पुगेका थिए । तर, डाक्टरले समय अभाव देखाउँदै उनलाई फर्काएका थिए ।

अस्पतालबाट बाहिरिँदा उनी जिब्रो निकालेर जोर जोरले चिच्याइरहेका थिए । अस्पतालबाट उपचार नपाएर फर्किरहेको २४ घण्टा नबित्दै उनको मृत्यु भएको हो । उपचार नपाएर अस्पतालबाट छट्पटिँदै बाहिर निस्किरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

कोरोनाको कहरमा कतै पनि उपचार नपाएपछि छटपटिएर प्रमोदले मृत्युवरण गर्नुपरेको सबैला घर भएका पत्रकार बिपी साहले बताए । डायलासिसका लागि सांसददेखि अस्पतालका मेसुलगायत कैयौंसँग गुहार मागे पनि मद्दत नपाएपछि प्रमोदले ज्यान गुमाउनु परेको उनको भनाई छ ।

उपचार नपाएर प्रमोदले ज्यान गुमाएपछि प्रदेश सरकारको व्यापक आलोचना भइरहेको छ । प्रदेश सरकारको मातहतमा आइसकेको प्रादेशिक अस्पतालमा प्रशासन र डाक्टरले चरम लापरबाही गरिरहेको सर्वसाधारणको आरोप छ ।

प्रकाशित : २०७७ भाद्र ४, बिहीबार १२:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ