बाराका सिडिओ निधारमा मास्क लगाएर अनुगमनमा निस्केपछि…


जनकपुरधाम : नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ । देशभर कोरोना भाइरस संक्रमितको ३१ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १ सय ४९ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।

पछिल्लो समय काठमाडौँ उपत्यकासहित भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरुमा कोरोनाले भयावह रुप लिनसक्ने स‌ंकेत देखिएका छन् । तराईमा पनि प्रदेश–२ उच्च जोखिम छ ।

स्वास्थ्य मन्त्रालयले हरेक दिन कोरोना भाइरसबाट जोगिन स्वास्थ्य सुरक्षा सावधानी अपनाउन सर्वसाधारणलाई अपिल गर्दै आएको छ । कोरोनाको उच्च जोखिम देखिएपछि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लगाइएको छ ।

केही समय अघिदेखि मास्क नलगाएर बाहिर निस्केकाहरुलाई कारबाहीसमेत हुँदै आएको छ । तर नियम कार्यान्वयन गर्ने निकायमा रहेकाहरुले नै लापरबाही गरेको देखिएको छ ।

आइतबार बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित सुरक्षाकर्मीको दलबलसहित सीमानाकाको अनुगमनमा निस्किए । अनुगमनका क्रममा नौ वटा मोटरसाइकलमा भारतबाट तस्करी गरी ल्याउन लागेको ४० बोरा रासायनिक मल जफत गरेर वीरगन्ज भन्सारमा बुझाएका प्रजिअ पण्डितले फेसबुकमार्फत जानकारी गराएका छन् ।

उनले फेसबुकमा अनुगमनका क्रममा खिचिएका फोटोसमेत राखेका छन् । फोटोमा उनले सही तरिकाले मास्को प्रयोग गरेको देखिँदैन । उनले मास्क कतै निधारमा लगाएका छन् भने कतै चिउँडोमा लगाएका छन् ।

उनीसँगै रहेका केही सुरक्षाकर्मीले समेत मास्कको सही प्रयोग गरेका छैनन् । फोटोमा प्रजिअ पण्डितसहित सुरक्षाकर्मीहरुबीच पर्याप्त दूरीसमेत कामय गरेको देखिँदैन ।

  • देशसञ्चार डटकमबाट
प्रकाशित : २०७७ भाद्र ७, आईतवार १९:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ