कोरोना कहर : नेपाल प्रहरी र सशस्त्रमा सबै बिदा रोक्का


काठमाडौं : कोरोना महामारीका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरीमा अत्यावश्यकबाहेक सबै बिदा रोक्का गरिएको छ । बिदामा छाड्दा कोरोना जोखिम झन बढ्नसक्ने भन्दै सबैलाई काममा बोलाइएको हो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले अत्यावश्यक बाहेक सबै बिदामा रोक लगाइएको बताए । उनले भने, ‘यस्तो बेलामा जनशक्ति तयारी अवस्थामा पनि राख्नुपर्छ । कोरोना जोखिम बढ्दो छ । त्यसैले अहिलेलाई बिदा रोक्का गरेका हौं ।’

प्रवक्ता अर्यालका अनुसार सशस्त्र प्रहरीको मुख्यालयमा आउने प्रहरी कर्मचारीलाई संगठनकै बसमा ल्याउने लैजाने गरिएको बताए ।

यता प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले अत्यावश्यक बाहेक अन्य बिदामा रोक लगाइएको बताए । उनले भने, ‘मृत्यु संस्कार, सुत्केरी, बिरामीलगायतलाई बिदा दिएका छौं । तर अरुलाई बिदा दिए पनि जाने कसरी फर्किने कसरी यस्ता समस्या छन् । त्यसमाथि कोरोना जोखिम छ ।’

उनका अनुसार बिदामा गइहाले पनि गाउँमा क्वारेन्टिन बस्नुपर्ने अवस्था छ । अर्कोतिर विदा सकिएर कार्यालय फर्किंदा पनि क्वारेन्टिनमा अनिवार्य बस्नुपर्छ ।

प्रकाशित : २०७७ भाद्र ७, आईतवार २०:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ