जनकपुरको उच्च अदालत र धनुषा–महोत्तरीको जिल्ला अदालत भदौ १५ सम्म बन्द


जनकपुरधाम : कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढ्दै गएपछि उच्च अदालत जनकपुर तथा जिल्ला अदालत धनुषा र महोत्तरी जिल्ला अदालतको अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द हुने भएको छ ।

उच्च अदालत जनकपुर, सरकारी वकिलको कार्यालयका कर्मचारी नै कोरोना संक्रमित भएपछि अत्यावश्यक बाहेक सम्पूर्ण सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको हो । केही साता पहिले उच्च अदालत जनकपुरका एक न्यायधिशमा कोरोना संक्रमण देखिएको थियो भने सरकारी वकिलको कार्यालयका कर्मचारीमा समेत कोरोनाको संक्रमण देखिएको थियो ।

उच्च अदालत जनकपुर, सरकारी वकिलको कार्यालय, जिल्ला अदालत धनुषा, जिल्ला अदालत महोत्तरीका पदाधिकारीबीच भएको बैठकबाट कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अदालतको काम कारबाही बन्द गर्ने निर्णय गरिएको बताइएको छ ।

सो अवधिमा उच्च अदालत जनकपुर र जिल्ला अदालत महोत्तरीको हकमा थुनछेक, बन्दी प्रत्यक्षीकरण, बालबालिकाको हकमा पर्ने निवेदन, महामारी सम्बन्धी निवेदन दर्ता तथा सुनुवाई हुने बताइएको छ ।

  • सेतोपाटी
प्रकाशित : २०७७ भाद्र ८, सोमबार १९:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ