मान्छेलाई कोरोनाले सतायो, पशु ‘पक्स भाइरस’को सिकार, ९० हजार गाईभैँसी संक्रमित


जनकपुरधाम : गाईभैँसी तथा पशुलाई लाग्ने पक्स भाइरस समूहको लम्पी स्कीन रोग काठमाडौं उपत्यकासहित १ दर्जनभन्दा बढी जिल्लामा देखा परेको छ । गत असार महिनामा पहिलो पटक मोरङ जिल्लामा यो भाइरस गाईभैँसीमा देखिएको पशु सेवा विभागले जनाएको छ । 

हाल यो रोग झापा, मोरङ, सुनसरी, रौतहट, काभ्रे, मकवानपुर, तनहुँ, कास्की र काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा फैलिएको विभागले बताएको छ । यो भाइरसको प्रकोप सबैभन्दा बढी झापा, मोरङ र सुनसरीमा फैलिएको विभागको भनाइ छ ।

नेपालका विभिन्न जिल्लाका गाई र भैँसीमा लम्पी स्किन नामको भाइरस फेला परेको पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले जानकारी दिए । 

विभागका महानिर्देशक डा. शर्माका अनुसार संक्रमित गाईभैँसीमध्ये १० प्रतिशतको मृत्यु भएको, बाँचेका गाईभैँसीबाट दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने गरेको र बाँझोपन पनि देखिने गरेको छ । पक्स भाइरस लामखुट्टे, झिँगा, किर्ना, उपियाँ आदिबाट फैलिन्छ । त्यसबाहेक संक्रमित गाईभैँसीको लसपसबाट पनि अन्य गाईभैँसीमा यो रोग फैलिरहेको डा. शर्मा बताउँछन् । 

‘पक्स भाइरसको प्रकोप झापा, मोरङ र सुनसरीमा धेरै फैलिएको छ । यी जिल्लामा मात्र करिब ९० हजारभन्दा धेरै गाईभैँसी संक्रमित भएको विभागको अनुमान छ । अन्य जिल्लाका १० हजार गाईभैँसीमा यो भाइरसको संक्रमण रहेको अनुमान छ,’ उनले भने, ‘पक्स भाइरस गाईभैँसीमा देखिने लक्षणबाटै रोग पहिचान गर्न सकिने भएका कारण संक्रमण फैलनि नदिन प्रयास भइरहेको छ । संक्रमण फैलिएको जिल्लामा परिक्षण र रोकथामका लागि औषधि प्रयोग भइरहेको छ ।’

डा. शर्माका अनुसार पक्स भाइरसको संक्रमण झिँगा, लामखुट्टे हराउँदै जाने भएका कारण कात्तिक, मंसिरदेखि मात्र नियन्त्रण हुँदै जान्छ । लम्पी स्किन रोग विशेषगरी गाई र भैँसीमा देखिने काप्री पक्स विषाणु समूहको लम्पी स्किन भाइरसले भएको उनी बताउँछन् ।

पूर्वी नेपालका विभिन्न जिल्ला हुँदै प्रदेश १, २ र बागमतीका केही जिल्लाका गाईभैँसीमा लम्पी स्किन संक्रमण देखिएको छ । हालसम्म पक्स भाइरसको संक्रमणबाट ६० वटाभन्दा बढी गाईभैँसीको मृत्यु भएको विभागले जनाएको छ ।

पक्स रोगका लक्षण 

पक्स भाइरस रोग पहिचान गर्न सहज हुने विभागले बताएको छ । विभागका अनुसार पक्स भाइरस लागेका गाईभैँसीमा घाँस खान नरुचाउने, शरीरका विभिन्न भागमा गिर्खा देखिने, आँखामा कचेरा देखिने, मुखबाट फिँज निकाल्ने, उच्च ज्वरो आउने, सिँगान बग्नेजस्ता लक्षण देखिन्छ ।

त्यस्तै, शरीरमा आएका खटिराबाट तरल पदार्थ बगिरहने, खुट्टा सुन्निने तथा लुलो हुने, दूध दिन छोड्ने र मृत्युसमेत हुन्छ ।

पक्स रोगबाट गाईभैँसीलाई कसरी बचाउने ?

महानिर्देशक डा. शर्माका अनुसार पक्स भाइरसको ठोस उपचार नभएका कारण रोग देखिएको क्षेत्रबाट गाईभैँसी ओसारपसार रोक्ने, गोठवरिपरिको वातावरण सफा राख्ने र झिँगा, लामखुट्टेजस्ता परजीवीबाट जोगाउने नै यो रोगको रोकथाम गर्ने उपाय हो ।

अफ्रिकीबाट फैलिएको रोग 

पक्स भाइरस पहिलो पटक अफ्रिकी देश जिम्बाबेमा सन् १९२९ देखा परेको थियो । यो रोग सन् २०१२ जुलाईमा बंगलादेश र चीनमा देखिएको थियो ।

त्यस्तै, यो रोग सन् २०१९ मा भारतमा फैलिएको थियो । नेपालमा भन्ने गत असार महिनामा पहिलो पटक मोरङमा देखा परेको केन्द्रीय पशु रोग अन्वेषण शाखाले जनाएको छ ।

गत असारमा गरिएको परीक्षणमा नेपालमा यो रोग भित्रिएको पुष्टि भएको अन्वेषण शाखाले जनाएको छ । 

हालसम्म विश्वका ८० वटाभन्दा धेरै देशमा पक्स भाइरस फैलिएको छ । ५ लाखभन्दा धेरै गाईभैँसी यो रोगबाट मरिसकेका छन् । यस रोगविरुद्धको खोप हाल नेपालमा उपलब्ध छैन । खोप उपलब्ध नभएका कारण रोग देखिएको क्षेत्रबाट गाइभैँसीको ओसारपसार बन्द गर्नु र गोठवरिपरिको वातावरण सफा राख्नु नै रोगविरूद्धको मुख्य उपचार भएको विभागको भनाइ छ ।

विभागका अनुसार यो रोगबाट संक्रमित गाईभैँसीबाट जन्मिएका बाच्छाबाच्छी र पाडापाडीमा समेत यो रोग सरेको हुन्छ । रोगको ठोस उपचार नभएकाले प्राविधिकको सल्लाहमा लक्षणअनुसारको उपचार गर्न विभागले सुझाएको छ ।

कोरोना भाइरसले विश्व नै आक्रान्त भइरहेको अवस्थामा पशुमा पनि नयाँ भाइरस देखिन थालेपछि भाइरस संक्रमण फैलिएको जिल्लाका किसान झनै समस्यामा परेका छन् । यो रोगका कारण दूध बेचेर  जीवन निर्वाह गरिरहेका किसानलाई ठूलो मर्का परेको छ ।

  • रमेश भारती / शिलापत्र
प्रकाशित : २०७७ भाद्र ९, मंगलवार ०९:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ