जनकपुर–जयनगरका लागि दुई रेल ८६ करोडमा तयार, तर कोरोनाका कारण अलपत्र


काठमाडौं : जनकपुर–जयनगर रेलमार्गमा सञ्चालन हुने दुईओटा रेल तयार भएका छन् । भारतीय कम्पनी इन्टरनेशनल कोच फ्याक्ट्रीले ८६ करोेड रुपैयाँ लागतमा ती रेलको निर्माण गरेको हो ।

तयार भइसकेका र सीमावर्ती क्षेत्र पटनाको हाजीपुर ल्याइएका उक्त रेल कोरोना महामारीका कारण सञ्चालनको टुंगो भने लागेको छैन । नेपालले दुई रेलका लागि अहिलेसम्म २० प्रतिशत भुक्तानी गरेको छ । बाँकी रकम भने नेपालमा परीक्षण सञ्चालनपछि भुक्तानी गरिने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । ती दुई रेलको यात्रु क्षमता करीब २६ सय जना ९१३ सय प्रतिरेल० रहेको छ ।

भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–बर्दिबास रेलमार्ग ६९ किलोमिटर छ । त्यसमध्ये जयनगर–जनकपुर ३४ किमि खण्ड निर्माण सम्पन्न भइसकेकाले उक्त रूटमा मात्र रेल सञ्चालन हुनेछन् ।

नेपालले ल्याउने ती रेल सञ्चालनका लागि पनि भारतबाटै करारमा प्राविधिक ल्याउने तयारी सरकारको छ । हालै विभागले भारतको रेल बोर्डसँग गरेको भर्चुअल छलफलमा भदौ अन्तिम सातासम्ममा ती रेल हस्तान्तरण गर्ने सहमति जुटेको महानिर्देशक मिश्रले बताए । तर, अहिलेकै अवस्था कायमै रहे तोकिएको समय पनि सर्न सक्ने उनको भनाइ छ ।

विभागले नेपालमा रेल सञ्चालनका लागि जनशक्ति व्यवस्थापन गर्न दरबन्दी खुलाउने र त्यसपछि तालीमका निम्ति भारत पठाउने तयारी गरेको मिश्रले बताए । यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले करीब १ दर्जन कर्मचारीलाई रेल निर्माण सम्बन्धी तालीमका लागि गतवर्ष चीन पठाएको थियो ।

सरकारको तयारी एकातिर र तालीम अर्कोतिर हुँदा भारतबाट ल्याइएका कर्मचारीलाई करारमा राख्नुपर्ने बाध्यताले थप लगानी गर्नुपर्ने अवस्था आएको छ । भारतीय रेल निर्माता कम्पनीले दुवै रेलको ग्यारेन्टी १ वर्ष दिएकाले परीक्षण तथा सञ्चालन अवधिमा केही समस्या भए उसैले बनाइदिने सहमति भएको मिश्रले बताए ।

  • अभियान
प्रकाशित : २०७७ भाद्र ९, मंगलवार १०:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ