गैरदलितले दलितसँग माफी मागेर कलंक पखाल्नुपर्छ !


  • अरुणकुमार साह ‘अनिल’

मानव समाजको उत्पत्ति र विकासको इतिहासलाई हेर्ने हो भने दलित समुदाय समाजको सबैभन्दा पुरानो शासक हुन् । तर, यतिबेला दलितहरू गैरदलितहरुको कारण घर न घाटको जस्तो भएको छ । उनीहरुको हातबाट सताच्युत भएपछि पशुतुल्य व्यवहार भोग्दै आएका छन् । जसबाट उनीहरू विक्षिप्त छन् ।

इतिहासदेखि जातीय विभेदको जातोमा पिल्सिदै आएका छन् दलितहरु। यो सबै समस्याको भागिदार गैरदलितहरुको पिता–पुर्खा हुन् । पिता पुर्खाको कारण यतिबेला हामी त्यसको भागिदार हौं । हामीले त्यसको मूल्य चुकाउनुपर्छ । अर्थात् हामी गैरदलितहरुले दलितसँग माफी माग्नुपर्छ । र, इतिहासले लगाएको कलंक पखाल्नुपर्छ ।

इतिहासको विभिन्न कालखण्डमा राजनीतिक परिवर्तनहरु भए । तर, कुनै पनि राजनीतिक परिवर्तनले पिंधमा रहेका दलित समुदायलाई छुन सकेन । बरु उल्टै दोब्बर शासक भएर आए । यसबाट दलित समुदाय पटकपटक मृत्युवरण गरिरहेका छन् । यो इतिहास र परिवर्तनको कस्तो मज्जाक हो ? कुनैबेला दलितहरु पनि यो समाज र देशको शासक थिए भने कुरा किन बिर्सेका छन् । अहिले लोकतान्त्रिक युगमा पनि किन आफ्नो सता र शासनको दुनो सोझ्याई रहेका छन् ? यस्तो झूठो कर्म कहिलेसम्म चलिरह्ने हो ?

अहिले मुलुकमा लोकतन्त्र छ । सबै वर्ग, जाति र समुदायको हक र अधिकार संविधानमा सम्मान छन् । तर, खुकुलो पनि उतिकै छन् । जसले दलित समुदायलाई कहिले पनि यो संविधानले भलो गर्न सक्दैन । जुन समाजले विभेद र छुवाछूत रोपियो, त्यो समाजले त्यसको अन्त्य गर्न सक्दैन भने उनीहरुकै अगुवाईमा हिजो बनेको संविधानले कसरी दलितको हकअधिकार र विभेदको अन्त्य गर्न सक्छन् ? यसका लागि त दलित समुदायलाई नै अघि सार्नुपर्छ । हामीले त्यसमा साथ दिनुपर्छ ।

तर, यहाँ विभेद उन्मुलनमा साथ होइन झन् विभेदको माथ थप्ने काम भइरहेको छ । मानिसहरु समाजमा जति पढलेख गरे र शिक्षित भए जातीय विभेद र छुवाछूत पनि समाजमा उतिकै शिक्षित भएर आए । जसले गर्दा दलित समुदाय जातीय विभेदबाट मुक्ति पाउन सकेको छैन । हामी गैर दलितका पिता पुर्खाहरुले दलितमाथि जति अत्याचार गरे उनीहरू उतिनै अन्यायमा परेका छन् । त्यो युगले जन्माएको समस्या थियो । तर, यतिबेला हामीले उनीहरुको सन्तानले त्यो समस्याको समाधान दिन सकेन भने त्योभन्दा ठूलो पापको भागेर अरु केही हुन सक्दैन । त्यसैले दलितको समस्या दलितको मात्र होइन, सबैको साझा समस्या हो ।

मुख्यतः गैरदलितबाट जन्माएको समस्या हो । त्यसैले बोल्ने र निराकरण दिने प्रमुख जिम्मेवारी हामी गैरदलितहरुको हो । हाम्रै कारणले दलितहरू अहिलेको युगमा पनि अछुतो छन् । नेपालको कानुन र शब्दकोषले समेत भेदभाव गरेको छ । यो भन्दा दुःखद कुरा दलित समुदायको लागि अरु के हुन सक्छ ? तथापि दलितहरू अहिलेसम्म सहँदै आएका छन् । यदि हामी गैरदलित समुदायले दलितहरूको विभेदको समस्या हल गर्न सकेनौं भने यसको ठूलो मूल्य चुकाउनुपर्छ । कि त हामीले उनीहरुलाई मानव भएर बाँच्ने पाउने अधिकारको शुनिश्चित गर्नुपर्छ कि त उनीहरुले हामीबाट लिने बदलाको ढोका ख‍ोली दिनुपर्छ ।

अहिले पनि दलितहरूको समाजिक, आर्थिक र राजनीतिक हैसियतमाथि गैरदलितहरुको हैकम छ । कमजोर अवस्थाकै कारण दलितहरू अहिलेसम्म विकास र चेतनास्तरमा पछाडि परेका छन् । उनीहरुको त्यो स्तरमा पुर्याउने जिम्मेवारी हामी गैरदलितहरुको काधमा छ । त्यसैले दलितको कुरा दलितले होइन गैरदलितहरुले उठाउनुपर्छ । कुरा उठाउने मात्र होइन्, समाधान पनि दिनुपर्छ ।

प्रकाशित : 26 September 2020 10:44 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !