त्यो दिन, यस कारण आत्मा मेरो रोएको थियो !


  • सरोज राय, सामाजिक अभियन्ता

एक वर्ष देखी हराई राखेको बालक प्रेम विकलाई भारतबाट उद्धार गरेर दलैख जिल्लाको डुल्लु नपामा पर्ने नाउले डांडामा बसोवास गर्ने आमाबुवा समक्ष पुर्याउन लग्दा पुरा गांव नै पन्चे बाजागाजा सहित स्वागतमा ओर्लेका तपाई सबैलाई सर्वविदित नै छ । आश मरी सकेको छोरा फर्किदा अर्को दिनपनि दिनभरी विभीन्न कार्यक्रम, नाचगान, टिकाटालो र खुशीयालीमा बोका समेत काटियो ।

तिन दिनको बसाईमा पहाड र त्यंहाको रहन सहनलाई नजिकबाट बुझ्ने मौका पाए । पहाड प्रति रहेका धेरै भ्रमहरू हट्यो । कमवेसी राज्य द्वारा पहाडमा पनि विभेद भएको देखें । यस वारे विस्तारमा पछि फेरी चर्चा गरौंला, आज नितान्त फरक विषय छ ।

विषय मानवताको हो, विषय पहाड-मधेश बिचको आत्मियताको हो, विषय दुई फरक संस्कृति बिचको अन्तर सम्बन्धको हो ।

प्रेमको घरमा तिन दिनको बसाईपछी मधेश फर्किन विदावारी लिए । प्रेमको आमाले पहाडको सौगात भन्दै मेरो ब्यागमा केहि समानहरू राखिन । नाउले वासी टिकोटालो र आशिस दिंदै विदावारी गरें । मलाई दलैख बजार सम्म प्रेमको काका तेज बहादुर विक पुर्याउन संगै हिंडे । डेढ घण्टाको गोरेटे बाटो हिंडेर शान्तिबजार पुग्नु थियो, त्यंहाबाट टेम्पुले डुल्लु बजार र डुल्लुबजार बाट फेरी अर्को टेम्पुले दलैख बजार जानु थियो ।

हामी संग प्रेमको आमाबुवा पनि संगै लागे, सुरूमा मलाई लाग्यो उंहाहरू गांवको बाहिर सम्म पुर्याएर घर फर्किन्छ । पाहुनालाई गांवको बाहिरी सिमासम्म छोड्ने चलन हाम्रो मधेशमा पनि छन् । तर, प्रेमको आमाबुवा गांवको सिमा पार भएपनि फर्केन, म वारम्वार घर फिर्ता पठाउन प्रयाश गरे तर उंहाहरू मान्नु भएन ।

त्यो दिन चर्को घाम थियो, प्रेमको आमा एउटा काक्रो र बुवा पानीको बोतल बोकेका थिए । पहाडको अति जोखीम बाटो, छिनछिनमा उरालो र उकालो बाटो, दश मिनेट मात्र हिंडेर म थाक्थे, एकछिनको विश्राम पछि फेरी अगाडी बढ्थे । विश्राम लिएको बेला प्रेमको बुवा पानी खान दिन्थे र आमा काक्रो । म त् अगाडी टेम्पो चढेर जान्थे तर प्रेमको आमाबुवालाई फेरी त्यतिकै समय लगाएर घर फर्किनु पर्थियो । यहि सोचेर, वारम्वार उंहाहरू लाई घर फर्किन आग्रह गरे, मान्नु भएन, थोरै रिसाएर पनि भने फेरि पनि मान्नु भएन ।

आधी काक्रो लिएर आमा पछि(पछि आई राखिन, म प्रतिको यो स्नेह देखेर म अति नै भावुक भए, त्यो क्षण मोबाइलमा कैद गरें, त्यति बेलासम्म मेरो आत्माबाट आंशु निस्केर आंखा सम्म आई पुगेको थियो । आंशु आंखाबाट बाहिर आउन अगाडी छेउमा रहेको झर्नामा गएर पानीले मुख धोए । कसैले मेरो आंशु देख्न पाएन तर आमाको त्यो माया म कसरी विर्सुं ?

डेढ घण्टाको हिंडाई पछि हामी शान्तिबजार आई पुगें । तर त्यो दिन टेम्पु हिंडेको थिएन, कारण दुई दिन अगाडीको वर्षातले बाटो पुरै खराब थियो । उंहाहरू एकजना खडका ज्युसंग कुरा गर्नु भयो र उंहाले आफ्नो मोटरबाइक दिनु भयो । शान्तिबजारबाट सबै सित विदावारी लिएर म र प्रेमको काका दलैख बजार तिर लागें ।

दलैख बजारसम्म बाटो खराब मात्र होइन अति नै जोखीमपूर्ण थियो । कुनै विरामी, गर्ववति वा अति जरूरी कामले बाहिर जानु परेमा के गर्छ होला सोच्न बाध्य भए ।

जसोतसो दलैख र त्यंहाबाट बसले सुर्खेत हुंदै जनकपुर आफ्नो घर फर्के । मेरो आमाले ब्याग खोलिन जसमा प्रेमको आमाले थोरै थोरै गरेर टिमुर, चामल, तिल, दाल र एक किलो घ्यु राखेकी थिइन । यो मेरो जिवन कै सबैभन्दा अमुल्य सौगात छन् । जब मैले नाउले गांवमा तिन दिनको बसांई वारे विस्तारले आफ्नो पुरै परिवारलाई सुनाएं, सबैको आंखा रसाएको थियो ।

प्रकाशित : 9 October 2020 7:52 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !