राज्यमन्त्री मण्डलले भने- आन्दोलनको समर्थन गर्छु, तर टायर नबालौं


जनकपुरधान : नेकपा प्रचण्ड-नेपाल समूहले आमहड्ताल सफल पार्न ठाउ ठाउमा टायर बालेर प्रदर्शन गरिरहंदा प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले त्यसो नगर्न आग्रह गरेका छन् ।

उनले आन्दोलनको समर्थन पनि गरेका हुन् । सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्, ‘लोकतन्त्रमा आफ्नो हक अधिकारका लागि बोल्न, लेख्न, प्रदर्शन र आन्दोलन गर्न पाईन्छ। त्यसको म समर्थन गर्छु । तर टायर बालेर वातावरण प्रदुषित नगरौं ।’

टायर बाल्दा आन्दोलनकारी स्वयंको स्वास्थ्यलाई र सम्पूर्ण दुनियाँलाई हानी गर्ने उनको भनाई छ । उनले वातावरणीय दृष्टिकोणले निकै जोखिमपूर्ण अवस्थामा रहेको हाम्रो प्रदेशलाई सबै मिली वातावरण मैत्री बनाउन अपिल पनि गरेका छन् ।

आन्दोलनको परम्परागत शैलीलाई परिवर्तन गर्नुका साथै यसको प्रकृति र प्रवृत्तिमा बदलाव ल्याउनुपर्ने राज्यमन्त्री मण्डलको सुझाव छ ।

प्रकाशित : २०७७ माघ २२, बिहीबार ०९:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ