चर्चामा लहानको झण्डा पार्क, आन्तरिक पर्यटकको भीड लाग्न थाल्यो


– राजेश विद्रोही
यतिबेला लहानको झझण्डाञ पार्क निकै चर्चामा छ । दिनभर फोटो खिचाउन र टिकट बनाउन युवायुवतीहरुको ठूलै भिड हुन्छ । लहान वरिपरिका मानिसहरु र गाउँ देहातबाट पढ्न आउने युवायुवतीहरुको लागि रमणीय ठाउँ भएको छ झझण्डा पार्कञ। पार्कमा खासै त्यस्तो केही रोचक कुरा छैन् । ५० वटा झण्डा होला । तर मानिसहरु गाडी रिजर्भ गरेर झण्डा पार्क हेर्न आउँछन् ।

लहान नगरपालिकामा सलहेशफुलवारी, मानिकदह, पोखडियागढ, हात्तीदह, देवीथान, लगायतका थुप्रै धार्मिक स्थलहरुछन् । जसलाई पर्यटकीय हिसाबले संरक्षण र विकास गरे स्थानीय सरकारको लागि ठूलो आमदानीको श्रोत हुन सक्छ । अहिले चर्चामा रहेको झण्डा पार्क नगरपालिकाले सार्वजनिक जग्गालाई संरक्षण गर्ने हिसाबले घेरबेर मात्र गरिएको हो ।

पछिल्लो समय प्लान र योजनाहरु बन्दै गयो । यस्तो चर्चित हुन्छ भनेर कसैले चिताएको थिएन । फोहोरमा कमलको फूल उम्रे जस्तो भएको छ यतिबेला लहानको झण्डा पार्क । मानिसहरू गाडी रिजर्भ गरेर झण्डा पार्क हेर्न, फोटो खिचाउन र टिकट बनाउन आउने गर्छन् । यसकै लागि बिहान देखि बेलुका सम्म मानिसहरूको ओहोरदोहोर भइरहेको हुन्छ ।

लहान बजारभित्र मानिसहरूलाई फुर्सदको समय सदुपयोग गर्न यस्तो खुल्ला ठाउँ नभएर पनि यो झण्डा पार्क यतिबेला सबैको लागि रमणीय स्थल बनेको छ । तर यहाँ बढ्न सक्ने विकृति विसंगति र अपराधहरुलाई बेलैमा व्यवस्था र नियन्त्रण गर्न सम्बन्धि निकायको ध्यान जान जरुरी छ । नभए पछि ढिला भईसक्ने छ ।

लहान नगरपालिका ५, बालुवाटोल छेउको खुट्टी खोलामा पर्ने यो गाउँ ठाउँ एक समय निकै बदनाम थियोे । अहिले बदनामको घण्टी झुन्डिएको छ । भर्खरका युवाहरू लुकेर बिहान, दिउँसो र बेलुका गाजा, भाँग, धतुरो तथा दुर्ब्यवसन गर्ने ठाउँको रुपमा स्थापित छ । दुर्ब्यवसन गर्ने युवाहरूमा चोरी लगायतका क्रियाकलापहरुमा सक्रियता बढ्दो छ । अहिले पनि फाट्टफुट्ट चोरीका घटनाहरु घटिरहेका हुन्छन् ।

लहानमा चोरी बदमासीको कुनै घटना घटी हाल्यो भने मानिसको पहिलो नजर यहीँ बालुवाटोलतिरै पुग्ने गर्छन् । लहानका मेयर मुनि साहको घर पनि यहीँनीर पर्छ । यतिबेला लहान नगरपालिकाको विकासले फड्को मारेपछि यो गाउँ ठाउँ विस्तारै बदनाम हुनबाट माथि उठ्न थालेको छ ।

अहिले रहेको झण्डा पार्क यसअघि निकै दुर्गन्धित ठाउँ थियो । घरघरमा सौचालय भएर पनि बालुवाटोल वरिपरिका मानिसहरू खुला सौच गर्न भने छोडेको छैन् । बिहान बेलुकी खुट्टी खोलामा महिला पुरुष सौच गरिरहेको दृश्य उस्तै हुन्छ । यहाँ सबै समुदायको बसोबास रहेको छ । तर बालुवाटोलमा अधिकांश गरिब, दलित, भूमिहीन सुकुम्बासी हरुको बसोबास रहेको छ । यहाँको मुख्य पेशा नजिकै रहेको खुट्टी खोलामा बालुवा गिट्टी चालेर जीवन निर्वाह गर्नु हो ।

वैकल्पिक व्यवस्था बिना अहिले त्यो खोलामा गिट्टी बालुवा उत्खनन बन्द भएपछि उनीहरूको रोजगार खोसिएको छ । केही मानिसहरु सहरमा मजदुरी, महिलाहरु सहरमा घरेलु कामदारको रुपमा, निजी अस्पताल लगायतको व्यावसायिक ठाउँ तथा सरकारी कार्यालयहरुमा सरसफाइको काम गरेर भोक टार्ने गरेका छन् ।

यहाँको शिक्षा स्तर निकै खस्किएको छ । नजिकै रहेको स्कूलहरुमा विधार्थी भन्दा शिक्षकहरुको संख्या धेरै छन् । गरिबीको कारण उनीहरू शिक्षा दिक्षालाई भन्दा रोजगारलाई बढी प्राथमिकता दिन्छन् । किनभने उनीहरूको जीवनमा सबैभन्दा ठूलो कुरा भोक हो । भोककै लागि मानिसहरू जीवनमा थुप्रै कर्महरु गर्ने गर्छन् । जसको सिमा हुँदैन । परिवारमा रोजगार हुनेहरूले अर्थिक उपार्जन गर्नुभन्दा लोकल विषाक्त रक्सीको लतले वर्षेनी यहाँका मानिसहरु अल्प आयुमै मृत्युवरण गरिरहेका हुन्छन् । उनीहरुको कमाईले वरिपरिका मदिरा भट्टीहरुका साहुहरू आफ्नो तीन पुस्ते सम्पत्ति जोड्छन् । छोराछोरीलाई राम्रो शिक्षा दिक्षा दिने गर्छन् । तर त्यहीँ गरिब दलित वस्तीका मानिसहरू सामान्य उपचार नपाएर मृत्युको सामना गरिरहेका हुन्छन् ।

लहान बजार सबैभन्दा पुरानो सहर र ऐतिहासिक ठाउँ हो । मधेस आन्दोलन देखि विभिन्न आन्दोलनको जग पनि । तर यहाँको विकास निर्माण र संस्कार संस्कृतिमा आंसिक परिवर्तन मात्र भएको छ । परिवर्तन र विकासमा जुन प्रगति हुनुपर्थ्यो त्यसमा सुस्त रहेको देखिन्छ । यहाँका व्यापार, व्यवसायी र केही मानिसहरूको चरित्र पनि लुट्ने, ठग्ने र फसाएर आफ्नो जीवन बनाउनेहरुको झुन्ड पनि उतिकै रहेको पाइन्छ । यसबाट लहान बजार निकै बदनाम छ । यहाँको प्रहरी प्रशासनको पनि यस्ता विषयमा ध्यान दिएको देखिदैन । झण्डा पार्कमा आउने उछृखंल युवाहरुको होहल्ला, झैझगडा, ग्यांगफाईट गर्ने प्रवृत्ति बढेको छ । राति पार्कमा सांस्कृतिक विकृतिलगायतका अपराधी घटनाहरु घट्ने खतरा बढेको छ ।

अनावश्यक रुपमा मोटरसाइकलमा बिना हेल्मेट दुईभन्दा बढी उछृखंल युवाहरू चढेर ठूलो आवाज र गतिमा मोटरसाइकल चलाएर ओहोरदोहोर गरिरहेको हुन्छ । जसले कुनै दिन ठूलै दुर्घटना निम्त्याउने छ । सड्कमा दुई पैसाको लोभमा ट्राफिक प्रहरी परिचालन गर्नुभन्दा यस्ता ठाउँहरुमा प्रहरी र ट्राफिक प्रहरी दुबै परिचालन गरी गलत गतिविधिलाई नियन्त्रणमा लिएर आवश्यक कार्वाही गर्न जरुरी छ ।

प्रकाशित : 9 February 2022 10:24 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !