प्रभु साह विवादमा तानिए, रौतहट जिल्ला ठप्प पार्ने एमालेको चेतावनी


गौर । गाडी दुर्घटनाको विषयमा नेता प्रभु साहको नाम जोडेर बदनाम गर्न खोजिएको भन्दै नेकपा एमाले रौतहटले आपत्ति जनाएको छ ।

गठबन्धन सरकारले एमाले पार्टी पंक्ति र नेता प्रभु साहलाई बदनाम गर्न स्थानीय प्रशासनको दुरुपयोग गरेको भन्दै शुक्रबार जिल्ला अध्यक्ष त्रिभुवन साह ‘अमर’ले प्रेस विज्ञप्ति निकालेर अनिश्चितकालीन जिल्ला बन्द गर्ने चेतावनी दिएका छन् ।

उनले स्थानीय प्रशासनले षडयन्त्र गरेको भन्दै छानबिन गरी कारवाही गर्न गृहमन्त्रालयलगायत माथिल्लो निकायको ध्यानाकर्षण गराएका छन् । गाडी दुर्घटनाको विषयमा एमाले स्थायी कमिटी सदस्य प्रभु साहको नाम जोडेर सीडीओ र एसपीलगायतका प्रशासनले बदनाम गरिरहेको अध्यक्ष साहको भनाइ छ ।

दुर्घटना बेलाका चालक चालक समातिँदा समेत दोषी चालकलाई छाडेर प्रभु साहको नाम जोडेर अनरगल प्रचार गरेको अध्यक्ष साहको विज्ञप्तिमा उल्लेख छ । ‘केही दिन अगाडि नेकपा एमालेबाट निर्वाचित उपमेयर र वडाध्यक्षलाई अपशब्द बोल्दा सिडियोले माफि मागेको, अनावश्यक रुपमा साहका स्वकीय विजय यादवलाई फसाउन खोज्दा डीएसपीले माफी माग्नुपरेको घटना जीवितै रहँदा गठबन्धनको इसारामा सिंगो एमाले पङ्क्तिमाथि आ- क्रमण सुरू गरेकोले रौतहट बन्द सहित संघर्षको कार्यक्रम अगाडि बढाउँनै छौं’, अध्यक्ष साहले बताएका छन् ।

‘सवारी चालकले गुडाइरहेको गाडीबाट दुर्घटना भएको, चालक घटनास्थलबाटैं तत्काल प्रहरीद्वारा समातिएको विषय जगजाहेर हुँदा समेत कांग्रेस गठबन्धनको इशारामा जिप्रका र जि. प्रहरी कार्यालयको प्रमुखसमेत संलग्न रही यसरी लठैत शेलीमा हाम्रा पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री क. प्रभु साहलाई बदनाम गर्ने गराउने अभिप्रायले प्रेरित भइ गरिएको षड्यन्त्रप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । दुर्घटनाको गहन अनुसन्धान गरी सत्यतथ्य पता लगाएर पीडितलाई उचित क्षतिपूर्तिसहित न्याय दिलाउनको सट्टा स्थानीय प्रशासनले प्रभु साहको भाइको गाडीबाट मान्छे मा- रिएको भनी मान-हानी गर्ने बदनियतपूर्ण कार्यको घोर भर्त्सना गर्दछौँ ‘, एमालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : २०७८ चैत्र ४, शुक्रबार १३:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ