क्रिप्टोकरेन्सीमा संलग्न रहेको आरोपपछि नायिका प्रियंका CIB को घेरामा


काठकाडौं । क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो पुगेकी नायिका प्रियंका कार्कीलाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ ।

नायिका कार्कीले सामाजिक सञ्जालमा क्रिप्टोकरेन्सीको प्रचार गर्दै भिडियो पोस्ट गरेपछि उनलाई बयानका लागि आइतबार ब्युरो बोलाइएको थियो । कार्कीले सामाजिक सञ्जालको उक्त पोस्टमा आफ्नो संलग्नता नरहेको बयानका क्रममा बताएकी छन् ।

‘उहाँले पोस्टमा मेरो केही संलग्नता छैन भन्नुभएको छ,’ ब्यूरोका प्रवक्ता एसपी श्यामकुमार महतो भन्छन्, ‘कसैले फोटो मिसयुज गरेको होला, मेरो संलग्नता छैन भन्नुभएको छ ।’

सामाजिक सञ्जालमा प्रयोग भएको एक फोटोमा प्रियंकाले क्रिप्टोलाई प्रमोसन गर्ने हिसाबले पोस्ट भएको देखिएपछि उनलाई अनुसन्धानको लागि प्रहरीले बोलाएको थियो ।

कार्कीले केही दिनअगाडि सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै भनेकी थिइन्, ‘क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु । तपाईंहरु पनि लगानी गर्नुस् ।’

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, हाइपरफण्डजस्ता कारोबारलाई गैरकानुनी भनेको छ । राष्ट्र बैंकले यस्ता कारोबार नगर्न सबैलाई सूचना जारी गर्दै केही समयअघि नै आग्रह गरिसकेको छ ।

राष्ट्र बैंकको निर्देशनलाई समेत ध्यानमा राखेर प्रहरीले यस्ता कारोबार गर्नेहरुलाई निगरानीमा राखेको छ । सोही क्रममा कार्कीको पोस्ट आएपछि ब्यूरोले बयानका लागि उपस्थित गराएको हो ।

उनको बयान सकिएको र थप अनुसन्धानको प्रकिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ चैत्र ६, आईतवार २१:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ