महन्थ ठाकुरको गुनासो- नागरिकता दिनेले आफ्नै देशका मधेसीलाई चिन्दैन


वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले नागरिकता दिने कुर्सीमा बस्ने व्यक्तिले आफ्नो देशको नागरिक नै चिन्न नसकेको टिप्पणी गरेका छन् ।

बिहीबार वीरगञ्जमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले नागरिकताको कुरा आउनेवित्तिकै मधेसतिर औंला उठाउने गरिएको तर नागरिकता दिने कुर्सीमा बस्नेको अनुहार नहेरिएको बताए ।

‘नागरिकता मधेसको मात्रै होइन, सबैको सवाल हो । नागरिकताको मुद्धा उठ्दा मधेसतिर औंला उठाउने गरिन्छ । मधेसमा लाइन लाग्छ रे’ उनले भने, ‘मैले संसदमा पनि भनेको छु । मधेसमा लाइन लाग्छ भने कुर्सीमा को बस्छ रु जसले नागरिकता दिन्छ । उनीहरु आफ्नो देशको नागरिक चिन्दैनन् । कुर्सीमा बस्ने त मधेसी हुँदैन ।’

संविधानले नागरिकताको अधिकार दिए पनि संघीय कानुन बमोजिम भनेका कारण समस्या परेको उनले बताए । ‘संविधानमा त अधिकार दिएको छ । तर ‘संघीय कानुन बमोजिम नागरिकता दिइनेछ’ भनेर लेखियो’, उनले भने, ‘तर संघले अझैसम्म कुनै कानुन बनाउन सकेको छैन । समितिमा अड्किएको छ । संसदमा छलफलका लागि पेश नै भएको छैन । यसको कारण नागरिकता वितरण रोकिएको छ ।’

संविधानमा अनेक त्रुटि रहेका कारण आफूहरुले पूर्ण रुपमा स्वीकार नगरेको अध्यक्ष ठाकुरले बताए । ऐतिहासिक रुपमा बहिर्गमनमा परेका, उपेक्षित भएका, सहभागिता र निर्णयमा अलग राखिएकाको अधिकारका लागि आफूहरुले अझै संघर्ष जारी राखेको उनको भनाइ छ ।

‘केही सफलता मिलेको छ । तर अझैपनि संघर्षरत छौं । हाम्रा मानिसहरु शान्तिपूर्ण आन्दोलन गर्दा जेल परेका छन् । उनीहरु माथि विभिन्न किसिमको मुद्धा लगाइएको छ’ उनले भने ‘पूर्वमन्त्री तारिख धाइरहेका छन् । कैलालीको टीकापुरबाट निर्वाचित सांसद रेशम चौधरी अझै जेलमा छन् । सर्वोच्च अदालतमा उनको मुद्धा चलिरहेको छ ।’ – अनलाइन खबर

प्रकाशित : २०७८ चैत्र १०, बिहीबार २१:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ