खतरा लेखिएको प्रेसर कुकरमा भेटियो चार तोला सुन र रुपैयाँ


धनगढी । कैलालीको गोदावरी नगरपालिका १ अत्तरियास्थित नवीन शाहुको घर अगाडि गएको मङ्गलबार बिहानै प्लास्टिकको थैलो प्रेसर कुकर भेटियो । बाहिर लेखिएको थियो ‘खतरा’ । ब- म भएको भन्दै टोलमा एकाएक त्रास फैलियो ।

स्थानीयले प्रहरीलाई खबर गरे । उक्त प्रेसर कुकर फेला परेपछि नेपाली सेनाको डिस्पोजल टोली बोलाइयो । नेपाली सेनाको टोलीले डिस्पोज गरेर हेर्दा त्यसभित्र सुनका गहना र केही नगद भेटिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए ।

उनका अनुसार जम्मा चार तोला सुन फेला परेको थियो । त्योसँगै कुकरमा एउटा पत्र समेत फेला पर्‍यो । पत्रअनुसार त्यो भेटिएको सुन र नगद घरधनी नवीन शाहुको थियो । प्रहरीका अनुसार शाहुको करिब ९ तोला सुन र नगद १ लाख रुपैयाँ गएको मंसिर १४ घरबाट चोरी भएको थियो ।

घरमा कोही नभएका बेला राति ताला फोडेर घरमा चोरी भएको त्यसअघि शाहुले प्रहरीमा दिएको निवेदनमा उल्लेख छ । कुकरमा राखिएको सुन र नगद पनि उनकै भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए । प्रेसर कुकरमा भेटिएको पत्रमा शाहुलाई सुझावसमेत दिइएको छ ।

प्रहरीका अनुसार पत्रमा शाहुलाई सबैको मान मर्यादा राख्न र समाजमा मिलेर बस्न सुझाव दिइएको छ । सुन र नगद भेटिएको पछिल्लो शाहुले इलाका प्रहरीमा उजुरी दिएका छन् । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : २०७८ चैत्र ११, शुक्रबार १३:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ