यी कर्मचारीले खाए गाउँपालिकाको ३४ लाख रुपैयाँ, जरिवानासहित असुल्ने !


जयनाथ यादव, लहान । सिरहाको विष्णुपुर गाउँपालिकामा कर्मचारीले ठूलो रकम निजी काममा खर्च गरेको रहस्य खुलेको छ । कार्यालयका नायब सुब्बा (नासु) महेन्द्र प्रसाद यादवले आन्तरिक राजश्व रकम निजी काममा खर्च गरेको खुलेको हो ।

नासु यादवले करिब ३४ लाखभन्दा बढी आन्तरिक राजश्व निजी काममा प्रयोग गरेको पाइएको छ । उनले निजी काममा गरेको खर्च र सोको २५ प्रतिशत जरिवानासहित कार्यालयको बैंकमा दाखिला गर्न प्रमुख प्रशासकिय अधिकृत दिप कुमार यादवले पत्राचार गरेपछि रहस्य बाहिरिएको छ ।

प्रमुख प्रशासकिय अधिकृत यादवले लेखेको पत्र अनुसार नासु यादवले ३४ लाख २३ हजार ७९० रुपैयाँ आन्तरिक राजश्व मनपरी ढंगले खर्च गरेका छन् । सो रकमको २५ प्रतिशत ८ लाख ५५ हजार ९४७ रुपैयाँ ५० पैसा जरिवाना जोडेर कुल ४२ लाख ७९ हजार ७३७ रुपैयाँ ५० पैसा आन्तरिक राजश्व खातामा जम्मा गर्न नासु यादवलाई निर्देशन दिइएको छ ।

२०७७÷०७८ को स्थानीय तह आय लेखांकन प्रणाली सफ्टवेयर मार्फत् ०७७ साउन १ देखि ०७८ असार ३१ सम्म ५५ लाख २७ हजार ७७ रुपैयाँ आम्दानी भएको थियो । उक्त आम्दानी गाउँपालिका राजश्व शाखाबाट आन्तरिक राजश्व दाखिला हुनुपर्ने थियो । तर सोमध्ये पटक पटक गरी ३४ लाख २३ हजार ७९० रुपैयाँ दाखिला नभएको देखिएको छ ।

चैत १५ गते नै प्रमुख प्रशासकिय अधिकृत यादवले नासु यादवलाई हिनामिना गरेको रकम जम्मा गर्न अनुरोध गरेको पत्र सार्वजनिक भएको छ । तर १० दिन वितिसक्दा पनि नासु यादवले रकम बैंकमा जम्मा गरेका छैन । नासु यादवले रकम गाउँपालिका अध्यक्ष जागेश्वर यादवले चलाएको दावी गरेका छन् ।

तर प्रशासनिक रुपमा आफू दोषी भएको नासु यादवले टुडेखोजसँग स्वीकार गरे । उनले भने, ‘प्रशासनिक हिसावले मैले जिम्मेवारी लिनुपर्छ । तर रक मभने पालिका अध्यक्ष ज्यूले नै चलाउनुभएको छ । अहिले म समस्यामा परेँ ।’ अध्यक्ष यादवले काम छ र पछि मिलाइदिने भनेर रकम लिएको उनको भनाई छ ।

गाउँपालिका अध्यक्ष यादवले भने रकम आफू नलिएको दावी गरेका छन् । उनले नासु यादवको आरोपमा सत्यता नरहेको जिकिर गरे । उनले आफूलाई फसाउन खोजेको पनि बताए । अहिले धेरै कुरा नबोल्ने र पछि पत्रकार सम्मेलन गरेर सत्यतथ्य बाहिर ल्याउने उनको भनाई छ ।

प्रकाशित : २०७८ चैत्र २६, शनिबार १०:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ