जसपाका निलम्बित सांसद रौनियार बाबु-छोरा भ्रष्टाचार मुद्दामा दोषी, ७ करोड जरिवाना


काठमाडौं । विशेष अदालतले प्रतिनिधि सभाका निलम्बित सांसद हरिनारायणप्रसाद साह रौनियारलाई भ्रष्टाचार मुद्दामा दोषी पाएको छ ।

उनीसहित छोरा सुमितलाई ७ करोड २४ लाख ५९ हजार ६३४ रूपैयाँ जरिवाना गरेको विशेष अदालतका शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७५ असोज १९ मा रौनियार बाबुछोरासहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । रौनियारको पप्पु कन्स्ट्रक्सनले बर्दियाको सदरमुकाम गुलरियालाई बारबर्दिया नगरपालिकासँग जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग गरेकोले पुल बनिनसक्दै भत्किएको भन्दै अख्तियारले मुद्दा चलाएको थियो ।

अख्तियारले नेपाल सरकारलाई प्रत्यक्ष हानी नोक्सानी पुर्‍याउने कार्य गरेको भन्दै रौनियार बाबु छोरालाई जनही १९ करोड ३२ लाख २५ हजार ६९५ विगो कायम गरेर मुद्दा चलाएको थियो ।

त्यस्तै विशेष अदालतले डिभिजन सडक कार्यालय, नेपालगञ्जमा विभिन्न समयमा प्रमुख रहेका भानु जोशी (बिगो करिब २ करोड), मनोज श्रेष्ठ (बिगो करिब ९ करोड) र राजेशकुमार यादव (बिगो करिब चार करोड) लाई पनि दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले तीनै जनालाई जनही ८ महिना कैद र २५ हजार जरिवाना हुने फैसला गरेको छ ।

त्यस्तै तत्कालीन समयमा डिभिजन सडक कार्यालय, नेपालगञ्जका इन्जिनियरद्वय नवराज केसी (बिगो करिब सात करोड) र हरिबहादुर खड्का (बिगो करिब साढे सात करोड) लाई ५ महिना कैद र २० हजार जरिवाना हुने फैसला गरेको छ ।

विशेष अदालतले सव इन्जिनियर कार्मा तेन्जिङ तामाङ (बिगो करिब १५ करोड) लाई चार महिना कैद र १५ हजार जरिवाना हुने फैसला गरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १२ जनाका विरुद्ध भ्रष्टाचार मुद्दा चलाएकोमा चार जनालाई सफाइ दिएको छ ।

डिभिजन सडक कार्यालयका इन्जिनियरद्वय दीपेन्द्रबहादुर विष्ट र प्रेमबहादुर चुवाई, सब इन्जिनियर गोविन्द गैह्रे र एभरेष्ट इन्जिनियरिङ कन्सलट्यान्टका प्रोपराइटर कृष्णदेव यादवले सफाइ पाएका छन् ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि निलम्विन सांसद रौनियार प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका छन् । यद्यपि सभामुखले उक्त सूचना प्रकाशन गर्न बाँकी नै छ । रौनियार २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नं. ३ बाट तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए ।

प्रकाशित : २०७९ बैशाख २७, मंगलवार १३:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ