महेश चौधरी : जसलाई समाजसेवाले बनायो मेयर


धर्मेन्द्र पासवान, लहान । समाजसेवीको ‘उपमा’ पाएका महेश प्रसाद चौधरी लहान नगरपालिकाको प्रमुख ‘मेयर’ पदमा पदभार ग्रहण गरेका छन् । उनले गरेको समाजसेवाले नै उनलाई प्रमुख (मेयर) पदमा निर्वाचित गराएको मेयर चौधरीले बताएका छन् ।

प्रथम चरणको कोरोना महामारीबाट विश्व नै आतंकित भएको बेला विश्व स्वास्थ्य संगठनले लागु गरेको स्वास्थ्य मापदण्ड अन्तर्गत नेपालमा पहिलो चरणमा कडा लकडाउन गरिएको थियो । सोही बेलादेखि नै महेश र उनका स्व. श्रीमती संगिताले आफ्नो व्यक्तिगत लगानीमा विपन्न, दलित, गरिब, असहाय, अपांग, मजदुर र एकल महिलाहरुलाई राहत वितरण गर्न सुरु गरेका थिए । आज तिनै समाजसेवी चौधरीलाई लहान वासीले खसेको ४० हजार सदर मतको आधा २० हजार मत दिएर चौधरीलाई मेयरमा निर्वाचित गरेका छन् ।

पदभार ग्रहण गरे लगत्तै मेयर चौधरी एक्सनमा
सिराहाको लहान नगरपालिकाका नवनिर्वाचित प्रमुख (मेयर) महेशप्रसाद चौधरीले पदभार ग्रहणसँगै व्यक्तिगत घटना दर्ता अन्तर्गत जन्म दर्ता, नागरिकता सिफारिस, विवाह दर्ता र मृत्यु दर्ता निःशुल्क गर्न नगरपालिकाको २४ वटै वडाको सचिवहरुलाई सोमबार नै परिपत्र गरिसकोको बताएका छन् ।

आर्थिक समस्यामा रहेका विपन्न मुसहर समुदाय जसलाई घरको कुनै सदस्य मृत्यु हँदा किरिया गर्ने खर्च समेत हुँदैन । तिनीहरूका किरिया खर्चका लागि पाँच हजार रुपैयाँ नगद दिने घोषणा गरेका छन् । सम्बोधन गर्ने क्रममा नवनिर्वाचित प्रमुख चौधरीले भने ‘मैले देखेको छु, मैले भोगेको छु, मेरै आँखा अगाडी ज्येष्ठ नागरिकहरुले बैंक बाहिर घण्टौं लाइनमा लागेर सामाजिक सुरक्षा भत्ता लिन बाध्य रहँदै आउनुभएको थियो । अब उपरान्त घरमै गएर ज्येष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रबन्ध मिलाउने घोषणा गर्छु ।’

नेपाली कांग्रेसबाट मेयर चौधरी आठ हजार एक सय ३६ मतको फराकिलो अन्तरले २० हजार एक सय पाँच मतसहित निर्वाचित भएका हुन् । उनले सोमबार नै नगर सभाहलमा नवनिर्वाचित वडाध्यक्ष, वडा सदस्यहरुलाई शपथ दिलाएका छन् ।

तलब सुविधाले दलित बस्तीमा खाद्यान्न
पदरभार ग्रहणसँगै उनले नियमानुसार पाउने तलब सुविधाको रकमले महिनाको प्रत्येक २२ गते एउटा दलित वस्तीमा गएर १० किलो चामल, एक लिटर खानेतेल र एक किलो नुन बाँड्ने छु’ चाहे त्यो जुनसुकै पार्टीको किन नहोस् र त्यो वस्तीमा जतिसुकै दलित परिवार किन नहोस् ।

सबै दलित बस्तीमा चामल, नुन र खानेतेल बाँड्ने घोषणा समेत गरे । ‘नगरका करिब चार हजार घरधुरी दलित बस्तीमध्ये हरेक महिनाको २२ गते १० किलो चामल, एक लिटर खानेतेल र एक किलो नुन बाँड्ने छु’ उनले भने ।

मेयर चौधरी सम्बोधनको बीचमै जब एक जना बालिकालाई सम्झेर रोए
मधेश प्रदेशलाई भौगोलिक दृष्टिकोणले सुगम मानिदैँ आएको छ । त्यसमा पनि सिरहाको लहान नगरपालिकाको उत्तरी ग्रामीण भेग १६ वडाको भसुवा भम्रे जहाँ निर्वाचन हुनुभन्दा अगाडी नै भोट माग्न जाँदा उनले देखेका कुरालाई (रुँदै) यसरी सुनाए ।

“एक जना सानो नानी ग्यालिनमा पानी भरेको देखेर मैले सोधे बहिनी यो ग्यालिनको पानी के गर्छौं ? उनले भनिन खान्छौं र भाँडाकुँडा मस्काउँछु । त्यो जवाफ सुनेर मेरो मन कति रोए होला ? नगरपालिकाको मुख्य बजारमा बसोबास गरेको जनता जो सम्पन्न छन् । तिनीहरूलाई चिल्ला सडक चाहिन्छ । चुरेको काखमा बसेका नागरिकले खानेपानी समेत पाएको छैन । अबको आउने दिनमा यो असमानतालाई हटाउँछु । त्यहाँको नागरिकले पनि ती सब अधिकार छन् जो बजारमा बसेको नागरिकको छ ।

छाडा चौपाया र निर्माण सामग्री सडकमा राख्नेलाई कार्वाही
नगरपालिका भित्र रहेका सडकहरूमा घर निर्माणको सामग्री राखेकोलाई व्यवस्थापन नगर प्रहरी इन्चार्जलाई निर्देशन दिइसकेको छ । सडकमा छाडा रूपमा गाइवस्तु छोडेकाहरुलाई तत्काल नियन्त्रणमा लिइ जरिवाना गर्न पनि नगर प्रहरी परिचालन गरेको छ ।

गाडी नचल्ने सडकमा तत्काल गाडी चल्नेयुक्त बनाउन निर्देशन
लहान नगरपालिका अन्तर्गत भसुवा भम्रेसम्म पानी परेको बेलाम गाडी चल्न सक्ने अवस्था हुँदैनन् त्यो सडक र भोटियाटोलदेखि बर्छावा जाने सडकको पनि मेयर चौधरीले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई १० दिन भित्र मर्मत गरेर गाडी चल्नेयुक्त बनाउने निर्देशन दिइसको छ ।

मासिक ३ लाख भुक्तानी गर्ने खाजाघर बन्द
पदभार ग्रहण गरेकै दिन मेयर चौधरीका अनुसार लहान नगरपालिका ८५ करोडको बजेट घाटामा रहेका छन् । त्यसलाई जिरोमा ल्याउन नगरपालिकाको कम्पाउन्ड भित्रै रहेको खाजा घर निर्वाचनको परिणाम घोषणा भए लगत्तै बन्द गराएका थिए । जुन खाजा घरलाई नगरपालिकाले मासिक रुपमै ३ लाख भुक्तानी गरिरहेको थियो ।

बजेटको स्रोत नभएको ठेक्का रद्द र ज्यालादारी कर्मचारी हटाइए
नगरपालिकामा घाटामा देखिएपछि नवनिर्वाचित मेयर महेश प्रसाद चौधरीले घाटा रोक्न प्रयासहरु थालेको छ ।
दैनिक ज्यालादारी फजुलको कर्मचारीहरुलाई काममा नलगाउन दिर्नेशन दिएको केही घटनामै प्रमुख प्रशासकीय कार्यान्वयन सुरु गरेको छ । जथाभावी सेवा सुविधामा रोक लगाउन मेयर चौधरीले निर्देशन दिएको छ । श्रोत नभएको ठेक्का सम्झौता तत्काल खारेज गर्नुपर्ने बताएको छ ।

प्रकाशित : 24 May 2022 10:51 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !