- राजेश विद्रोही
यतिबेला बालेन शाहको निकै चर्चा छ । उनीप्रतिको राजनीतिक ´क्रेज` बढेर गएको छ । राजधानीको मुटुमा बसेर एउटा स्वतन्त्र उमेदवारले दलहरुलाई दिएको चुनौती चानचुने छैन् । अरु स्थानीय तहहरुमा पनि बालेनहरु थुप्रै थिए । तर उनीहरू काठमाडौंको बालेन भन्दा फरक थिए । केही अपवाद थिए । तर थिए उनीहरू बालेन नै थिए । यसमा कोही कम्जोर बालेन थिए भने कोही मजबुत । कोही दलभित्रकै बालेन थिए भने कोही दल वाहिरका थिए ।
जनताले समुचित मूल्यांकन गर्यो । कोही अत्याधिक मत पाएर निर्वाचित भए । कोही अर्को पटकका लागि फिर्ता भए । तर गम्भीर विषय यो छ कि अपवाद भएपनि हरेक चुनावमा किन यसरी बालेनहरु जन्मिन्छन् ? कसले जन्माउँछन् बालेनहरु ? राजनीतिक दलले कि जनताले ? दलप्रति जनताको विश्वास किन घट्दै गएको छ ? यसको समिक्षा दलहरूले किन गर्दैनन् ? आफ्नो योजनाहरु समयानुकूल किन फेर्दैन ? पुरानैलाई निरन्तरता किन दिन चाहन्छन् ?
कतै जात, पैसा र व्यक्तित्व नभएर चुनाव हार्छन् । कतै विना खर्च वा कम खर्चमा बालेनहरु चुनाव जित्छन् । जनता रिझे जेपनि हुने रहेछ भने कुराको प्रमाण हो बालेनको जनमत । मतदातामा पनि फरकफरक खालको मनोविज्ञान छ । जसले बेलाबेलामा राजनीतिक दललाई फरक तरिकाबाट सवक सिकाइ रहेका हुन्छन् । तर राजनीतिक दल भने आफ्नै तरिकाले हिँडिरहेका हुन्छन् । यसले जनता र दल बीचको सम्बन्धलाई अर्थाइरहेको हुन्छ । तर दलका शिर्ष नेताहरू भने आफ्नो आसेपासेलाई संरक्षण गर्न जनतालाई बेवकुफ बनाई रहेका हुन्छन् ।
एउटा चोरका विरुद्ध अर्को महा चोरलाई दलको टिकेट दिएर चुनावी प्रतिस्पर्धा भइरहेको छ । यसले गतल राजनीति स्थापित गर्दैछन् । तर यसपटकको निर्वाचन परिणामले जनता निकै सजग भइसकेको देखिन्छ । कसलाई जिताउने र कसलाई हराउने, कसलाई संरक्षण गर्ने र कसलाई सवक सिकाउने भने कुराको संकेत जनताले आफ्नो मत मार्फत दिइसकेका छन् । जनताले परिवर्तन खोजिरहेका हुन्छन् तर नेताले पुरानै चरित्र लादिरहेका हुन्छन् ।
स्थानीय तहको निर्वाचन जसरी सम्पन्न भयो । र, जसरी परिणामहरु आउँदै छ । यसले के पुष्टि गरिरहेको छ भने जुन कारणले पाँच दलीय गठबन्धनको सरकार बन्यो । र,जुन राजनीतिक प्रवृत्तिका विरुद्ध पाँच दलीय गठबन्धनको सरकार स्थानीय चुनावसम्म आइपुग्यो । परिणाम यसको ठिक उल्टो भयो । चाहे त्यो गठबन्धनमा देखिएको मनोगत प्रयोग । या चुनावी तालमेल गर्दा गठबन्धन दलभन्दा बाहिर भएको गठबन्धन । यसले जनता, संगठन र नेताकार्यकर्तामा नराम्रो सन्देश दियो । जनता बेलैमा सजक भएको देखिन्छ ।
२९ गते रातीसम्म जुन राजनीतिक दल र व्यक्तिको जित्नेसम्मको प्रभाव थियो त्यसको भोलिपल्ट अर्थात् रातारात जनताको मनोबल फेरियो । चाहे त्यो पैसाले फेरिएको होस्, या जातीय सम्प्रदायक नाराहरुले । अर्थात् दलीय उमेदवारहरुको चरित्र अनुसार जनताले रातारात आफ्नो मत फेरिएका हुन् । यसले नराम्रोसँग दलहरुलाई सवक सिकाइ दिए ।
पाँच दलीय सरकारमा आबद्ध दलहरूले आफ्नो छोराछोरी, श्रीमती र आसेपासेलाई कुर्सीमा पुर्याउन चुनावी गठबन्धन गरे । तर तल्लो संगठनलाई आत्मनिर्भर्ताको नाममा अभिभावक विहिन जस्तो बनाई दिए । जुन आक्रोशको कारण दलभित्रै स्वतन्त्र उमेदवारी दिने, हिजोसम्म अरुको पार्टीका नेताकार्यकर्तालाई हुलकाहुल पार्टी प्रवेश गराउने त्यो दिन आफ्नै पार्टीका नेता कार्यकर्ता र संगठन रातारात अरुको पार्टीमा समाहित हुने । टिकेटको दावीदार हुने । गठबन्धन भन्दा बाहिरको दलसँग चुनावी तालमेल गरी गठबन्धनको औचित्यनै समाप्त पार्ने जस्तो गतिविधिहरु भएको छ । यसले गठबन्धनको औचित्य समाप्त पारेको छ ।
नेकपा एमाले अर्थात् केपी ओलीको विरुद्ध जसरी पाँच दल एकजुट भएर उसलाई सकाउनेतिर लाग्यो त्यसरी नै ओली झन बलियो बनेर देखाई दिए । चुनावमा हारजित स्वभाविक हो । तर ओली कति मजबुत रहेछ भने कुराको चुनावी परिणामबाटै थाहा हुन्छ । जनताको नजरमा एउटा ओलीलाई सकाउन सयौं ओलीहरु लागे ।
दलहरू सचिएन र केही संबैधानिक विषयलाई सच्याएन भने निकट भविष्यमै दलहरुका विरुद्ध लोकतन्त्रको चुनौतीपूर्ण अभ्यास हुनेछ । र, दलहरूका वैकल्पिक रुपमा थप बालेन शाहहरु जन्मिनेछन् । र, राजनीतिक दललाई किनारमा धकेलिदिनेछन् । यसर्थ दल र दलका शिर्ष नेताहरूमा मौलाउँदै गएको नश्लीय र वंशलीय अहमता तोड्न जरुरी छ । दलभित्र रहेका आफ्ना नेताकार्यकर्ताको संरक्षण र जनताको मनोविज्ञानलाई सम्बोधन गरेर आफ्नो राजनीतिक यात्रा फेर्न जरुरी छ । एक अर्काको अस्तित्व स्वीकार्न जरुरी छ ।