मेयर बालेनकी श्रीमति भन्छिन्- घरभित्रबाट जितेको मानिसको बाहिर कहिल्यै हार हुँदैन


काठमाडौं । काठमाडौं महानगरको मेयरमा निर्वाचित भएपछि बालेन साहकी श्रीमति सविना काफ्लेले शुभकामना दिएकी छन् ।

‘घरभित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिल्यै पनि हार हुँदैन,’ उनले भनेकी छन्, ‘म तिमीलाई कहिल्यै हार्न दिने छैन र मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ ।’

उनले अगाडि लेख्छिन्, ‘आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौं र यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचिालिएको छ ।’

यस्तो छ उनको स्ट्याटस
आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौं र यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचालिएको छ ।

तिम्रो संयमता नै तिम्रो शक्ति हो । दिन रात नभनी तिमीले गरेको मिहेनतको फल आज सबै सामू प्रष्ट छ । तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन् ।

घरी घरी डर पनि लाग्छ, अगाडि विशाल भवसागर छ , बाधा अड्चन चुनौतीहरूको अड्कल काट्न पनि मन डराउँछ तर फेरि जनमानसमा तिमीप्रतिको विश्वास सम्झन्छु, उहाँहरुको माया सम्झन्छु, उहाँहरुको साथ सम्झन्छु, तिम्रो दृढता सम्झन्छु अनि मन ढुक्क हुन्छ ।

चुनौतीहरु धेरै आउलान् तर तिमीले भन्ने गरेजस्तै गारो होला तर असम्भव छैन । तिमीलाई आफ्नो कार्यकालमा कहीँकतै नडगमगिने शक्ति मिलोस् । अब तिमीले जीवनमा पछाडि फर्केर कहिले हेर्न नपरोस् । पछाडि हेर्न परे पनि कृतज्ञताका लागि मात्र होस् । तिम्रा पाइला अगाडि मात्र बढिरहुन्, ती अगाडि बढिरहेका पाइलासँग साथमा साथ हिँड्न मेरो प्रेम, मेरो विश्वास , मेरो साथ अनि समर्थन तिमीसँग सदैव हुनेछ ।

घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ ।
तिमीलाई हार्दिक बधाई ।
मलाई हार्दिक बधाई ।
हामी सबैलाई हार्दिक बधाई ।

प्रकाशित : २०७९ जेष्ठ १३, शुक्रबार १२:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ