Breaking : विश्वकप लिग- २ मा नेपालको अविश्वसनीय कमब्याक, शीर्ष ४ मा उक्लियो


काठमाडौं । लिग- २ को दौडमा पछि परेको नेपालले एक दिवसीय मान्यता नै गुमाउने संघारबाट अविश्वसनीय पुनरागमन गरेको छ । आज यूएईविरुद्ध दबदबापूर्ण जीत हासिल गर्दै नेपाल लिग- २ को शीर्ष ४ मा उक्लियो र आगामी चार वर्षका लागि एकदिवसीय मान्यता सुरक्षित तुल्यायो ।

विश्वकप लिग- २ क्रिकेटमा पछिल्ला तीन त्रिदेशीय श्रृंखला खेल्नुअघि नेपाल दयनीय अवस्थामा थियो । तालिकाको छैंटौ स्थानमा रहेको नेपालले ओडीआई मान्यता जोगाउन बाँकी रहेका १२ खेलमध्ये १० खेल जित्नैपर्ने दबाब थियो । विश्वकपको ग्लोबल क्वालिफायरको यात्रा त सम्भव नै देखिएको थिएन ।

तर, पछिल्ला १० खेलमध्ये ९ वटामा जीत दर्ता गर्दै नेपालले ओडीआई स्टाटस जोगाएको हो । अब अन्तिमका दुई खेलमा पनि जीत हासिल गरे नेपालले विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउने छ ।

यसअघि १७ अंकले अगाडि रहेको अमेरिकालाई पछि पार्दै नेपाल शीर्ष चारमा उक्लिएको हो । आजको जीतसँगै लिग- २ का ७ टोलीमध्ये नेपाल कम्तिमा चौथो स्थानमा रहने पक्का भएको छ ।

प्रतियोगिताको आफ्नो अन्तिम श्रृंखलामा घरेलु मैदानमा उत्रिरहेको नेपालले लगातार दुई जीत हात पारेको छ । पहिलो खेलमा पपुआ न्युगिनी (पीएनजी)लाई हराएको नेपाली टोलीसामु आइतबार यूएई निरीह बन्यो ।

नेपालले ३४ खेलबाट ३६ अंक जोडेको छ । पाँचौं स्थानमा रहेको अमेरिकाको ३६ खेलबाट ३५ अंक छ । तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ । नेपालले अब पीएनजी र यूएईसँगका बाँकी एक-एक खेल जितेको अवस्थामा तेस्रो स्थान उक्लिँदै एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा स्थान बनाउनेछ । उक्त क्वालिफायरमा दक्षिण अफ्रिका, वेस्ट इन्डिज, जिम्बावेसहित १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

विश्वस्तरको छनोटबाट शीर्ष दुई टोलीले एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् । नेपालले एकदिवसीय विश्वकपको विश्वस्तरको छनोट यसअघि दुईपटक खेलिसकेको छ । तर, अहिलेसम्म विश्वकपको यात्रा तय गर्न सकेको छैन ।

चार साताअघि घरेलु मैदानमा आयोजना भएको स्कटल्यान्ड र नामिबिया सम्मिलित श्रृंखलाका चार वटै खेल नेपालले जितेको थियो । त्यही श्रृंखलामा नामिबियालाई हराएको स्कटल्यान्ड प्रतियोगिताको विजेता बन्ने पक्का भएको थियो ।

त्यसपछि विश्वकप लिग-२ को आफ्नो आठौं त्रिदेशीय श्रृंखला खेल्न यूएई पुगेको नेपालले त्यहाँ चारमध्ये तीन खेल जित्न सफल भयो । पीएनजीसँगका दुवै खेल नेपालले जितेको थियो भने यूएईसँग एक जीत र एक हार ब्यहोरेको थियो ।

 

प्रकाशित : २०७९ फाल्गुन २८, आईतवार १६:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ