अब सरकारी कर्मचारीले टिकटक बनाउन नपाउने, बनाए कारबाही !


काठमाडौं । कार्यालय पोसाक र कार्यालय समयमा सरकारी कर्मचारीहरुलाई टिकटक बनाउन रोक लगाइएको छ ।

उच्छृङ्खल किसिमका टिकटक भिडियोहरु बनाउने कार्यमा वरिष्ठ सरकारी अधिकारीहरु नै संलग्न रहेको उजुरी पर्न थालेपछि सरकारले आफ्ना कर्मचारीहरुलाई त्यस्ता खालका टिकटक नबनाउन निर्देशन दिएको छ ।

त्यस्तो टिकटक कर्मचारीमाथि गृह प्रशासनले अनुगमन र निगरानीसमेत बढाउने निर्णय गरेको छ ।

गृह मन्त्रालयले गत जेठ १६ गते सचिवस्तरीय निर्णयबाट टिकटक भिडियो बनाउने कर्मचारीले पालना गर्नुपर्ने सात नियम सर्कुलरका रुपमा मातहतका कार्यालयमा पठाएको छ ।

गृह मन्त्रालयद्वारा जारी सर्कुलरमा कार्यालय समयमा कार्यालय परिसरभित्र र कर्मचारी पोसाकमा टिकटकजस्ता भिडियो खिचेर सामाजिक सजालमा नराख्ने उल्लेख छ । यसैगरी सरकारी सवारीसाधनको प्रयोग गरी टिकटकजस्ता भिडियो खिचेर सामाजिक सञ्जालमा नराख्ने, कार्यालयसँग सम्बन्धित संवेदनशील काम कारबाहीको जानकारी, गोप्य कागजात आदि सामाजिक सञ्जालमार्फत सेयर नगर्ने/नगराउने निर्देशन दिइएको छ ।

यसैगरी कार्यालयको काम कारबाहीको विवरण जानकारी गराउँदा, सार्वजनिक गर्दा व्यक्तिगत प्रचार-प्रसार र जस लिने आशयले नगर्ने, आफ्नो नियमित कर्तव्यभित्र पर्ने सरकारी कामकाज गरेको विषयलाई अनावश्यक तन्काएर विज्ञापन गरेको जस्तो देखिने गरी व्यक्तिगत सञ्जालहरुमा समेत नराख्ने पनि कर्मचारीहरुलाई सर्कुलर गरिएको हो ।

सार्वजनिक पदधारण गरेका सबै राष्ट्रसेवक कर्मचारीले पदीय जिम्मेवारीलाई नकारात्मक प्रभाव पार्ने खालको विषयवस्तु सामाजिक सञ्जालमा नराख्ने निर्देशन दिइएको छ । गृह मन्त्रालयद्वारा जारी गरिएका निर्देशन कार्यान्वयन भए/नभएको सूक्ष्म अध्ययन र अनुगमन हुने जनाइएको छ ।

प्रकाशित : २०८० असार १०, आईतवार १९:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ