काठमाडौं । नेपाली समाजमा मानवताको भाव कतिसम्म छ भन्ने उदाहरण एउटा घटनाले देखाएको छ । हामी कहाँ सासू-बुहारीको सम्बन्धका अधिकांश किस्साहरु सकारात्मक छैनन् । तर समाजमा सासुबुहारीका सुमधुर र आत्मिय सम्बन्धहरु हजार छन् ।
रामेछापकी एक बुहारीले आमा समान सासूलाई कलेजो दिएर जीवनदान दिएकी छन् । ३७ वर्षीया बुहारी माया शेर्पाले कलेजो दान दिएपछि ६२ वर्षीया सासू लाक्पा शेर्पाले नयाँ जीवन पाएकी हुन् । भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण भएको १२ औं दिनमै निको भएर लाक्पा शेर्पा डिस्चार्ज भएपछि खुशीको सिमा नै रहेन ।
रामेछाप घर भइ काठमाडौंको बौद्ध बस्दै आएकी ६२ वर्षीया लाक्पाको कलेजो प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिएपछि परिवारमा सन्नाटा छायो । तर पारिवारिक सल्लाह भइरहेका बेला सासु लाक्पालाई ३७ वर्षीया बुहारी माया शेर्पाले कलेजो दिने निर्णय गरिन् । असोज २५ गते बिहीबार बिरामी लाक्पा र कलेजो दान गर्ने बुहारी माया भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भर्ना भए ।
भोलिपल्ट मायाले बिरामी सासूलाई आफ्नो कलेज दान गरिन् भने चिकित्सकको टोलीले सफल प्रत्यारोपण गर्यो । केन्द्रका प्रमुख डाक्टर पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा ३० सदस्यीय टोलीले कलेजको सफल प्रत्यारोपण गरेको थियो । कलेजो दान गर्ने माया छैठौं दिनमै डिस्चाई भइन् भने विरामी लाक्पा १३ औं दिनमा बुधवार निको भई घर फर्किन् । बुहारीले दिएको कलेजो प्रत्यारोपणपछि नयाँ जीवन पाउँदा सासू लाक्पाको खुशीको सीमा नै रहेन् ।
गाउँमा बिरामीले थलिएको लाक्पाको कलेजो प्रत्यारोपण गर्नुपर्ने खबरले परिवारमा सन्नाटा छाएको थियो । कलेजो दान कसले गर्ने भन्ने टुंगो लागेको थिएन । तर आफ्नी सासुलाई कलेजो दिन बुहारी माया तयार भइन् । उनी आमा समान सासूलाई कलेजो दिएर बचाउन सकेकोमा खुसी देखिएकी छन् ।
त्यसो त २०७३ सालमा दक्षिण कोरियाको सामसुङ्ग मेडिकल सेन्टरका चिकित्सकहरुको प्राविधिक सहयोगमा नेपालमै पहिलो पटक सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजोको सफल प्रत्यारोपण गरिएको थियो ।
त्यसपछि अहिलेसम्म १४ जनाको सफल कलेजो प्रत्यारोपण भइसकेको छ । कलेजो दान भनेको मानव शरीरमा भएको सम्पूर्ण कलेजो नै निकालेर दिने भने होइन । कलेजोको आधा टुक्रा निकालेर अर्कोमा प्रत्यारोपण गर्ने हो । यसरी प्रत्यारोपण गरिएको कलेलो विस्तारै पलाउँदै जान्छ भने दाताको शरिरमा रहेको कलेजो पनि पलाएर पूर्ण हुन्छ । कलेजो मात्र नभएर केन्द्रले ११ वर्षमा ११ सय ३७ जनाको मृगौला प्रत्यारोपण गरिसकेको छ ।
नेपालमा बर्सेनि १ हजार जनाको कलेजो प्रत्यारोपण गर्नुपर्ने देखिएको छ । अत्यधिक मदिरासेवन, डायबेटिज, मोटोपन, हेपाटाइटिसलगायतका विभिन्न कारणले कलेजो बिग्रेर विरामी हुने गरेको तथ्याङ्क छ । चिकित्सा विज्ञानमा कलेजो प्रत्योरोपणलाई अत्यन्त जटिल मानिने गरे पनि डराएर बस्न नहुने चिकित्सक बताउँछन् ।
कलेजो प्रत्यारोपणा खर्चिलो भने छ । एक जनाको कलेजो प्रत्यारोपण गर्न १५ लाख रुपैयाँभन्दा बढी लाग्ने गरेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनाएको छ ।