मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य


काठमाडौं । आइसिसी टी–२० विश्वकप अन्तर्गत मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ९ विकेटको क्षतिमा १६५ रन जोड्यो । उत्कृष्ट सुरुवात गरेको मलेसियाले पावर प्लेमा १ विकेटको क्षतिमा ६० रन जोडेको थियो । त्यसपछि भने नेपालले मलेसियाको रन रोक्ने कोशिस गरेको थियो ।

नेपालका लागि पहिलो विकेट अभिनास बोहराले ५=५ ओभरमा लिए । उनले मलेसियाका ओपनिङ ब्याट्सम्यान जुबाइदी जुल्किफीलाई २४ रनमा कुशल मल्लबाट २४ रनमा क्याच गराए ।

अर्को ओभर नेपालले मलेसियाका कप्तान अमहद फइजलाई ३ रनमा रनआउट गर्‍यो । दुई रन लिने चक्करमा रहेका उनलाई करण केसीको थ्रोइङमा विकेटकिपर आसिफले रनआउट गरे ।

त्यसपछि सन्दीप लामिछानेले विरनदीप सिंहलाई ४ रनमा एलबिडब्लूको धरापमा पारे । कप्तान रोहित पौडेलले शर्भिन मुनियान्डीलाई १३ रनमा क्याच गरे । त्यसअघि पाँच बलमा रोहितले १५ रन खर्चिएका थिए ।

१४औं ओभरमा गुल्सन झाले ६८ रन बनाएर खेलिरहेका ओपनर सयद अजिजलाई कुशल भुर्तेलबाट क्याच गराए । मलेसियाका लागि सबैभन्दा बढी रन बनाएका उनले ४९ बलमा ८ चौका र २ छक्का प्रहार गरे । गुल्सनले अइनूल अफिजलाई पनि रन आउट गर्न विकेटकिपर आसिफलाई बल दिएका थिए ।

१८औं ओभरमा अभिनासले मोहमद अमिरलाई ८ रनमा बोल्ड गरे। अभिनासले अन्तिम ओभरमा साजरुल इद्रुसलाई कुशल भुर्तेलबाट ७ रनमा क्याच गराउदा फित्रि शामलाई ६ रनमा बोल्ड गरेका थिए ।

बलिङमा नेपालका अभिनास बोहराले ४ विकेट लिए । अभिनासले ४ ओभरमा २७ रन खर्चिए । सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले १÷१ विकेट लिए ।

समूह ‘ए’‍ मा रहेको नेपालले यसअघि सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो ।

आजको खेल जिते नेपाल सेमिफाइनल पुग्नेछ । नेपालसँगै ओमान पनि समूहबाट अन्तिम चारमा पुग्नेछ । समूह चरणको आफ्नो अन्तिम खेल नेपालले ओमानसँग पर्सी खेल्नेछ ।

प्रतियोगिताको फाइनल पुग्ने दुई टिमले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकप खेल्नेछन् ।

प्रकाशित : २०८० कार्तिक १४, मंगलवार १५:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ