बारा । पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा एक वन्यजन्तु सिकारी मारिएका छन् । निकुञ्ज सुरक्षाकर्मीसंग भएको दोहोरो झडपमा वन्यजन्तु सिकारी मारिएका हुन् ।
आज बिहान करिब ८ स् १५ मा निकुञ्ज कर्मचारी, नेपाली सेनासहितको टोली गस्तीको क्रममा वन्यजन्तु सिकारीसँग जम्काभेट भएको थियो । सो क्रममा दोहोरो झडप भएपछि वन्यजन्तु सिकारी हेटौँडा उपमहानगर १४ का ५२ वर्षीय सुकबहादुर तिक्तुङ्गको ज्यान गएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
निकुञ्जमा वन्यजन्तु सिकारी गर्नका लािग हतियारसहित ५ जनाको समूहमा पुगेका थिए । सोमध्ये ४ जना भाग्न सफल भएका छन् भने झडपका क्रममा तिक्तुङ्गको मृत्यू भएको इप्रका सिमराका प्रमुख चिरञ्जीवी दाहालले पुष्टि गरे ।
सिकारीहरू निकुञ्जमै २ थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने ५७ राउन्ड गोली, ३ सय ग्राम बारुद, २ वटा मोबाइल, हँसिया, खुकुरी, लाइटर लगायतका हातहतियार र समानहरु छाडेर भागेका छन् । उक्त हातहतियार र समानहरु बरामद गरिएको छ ।