ताप्लेजुङमा फेरी झडप : दर्जनौं घाइते, राजेन्द्र महतोलाई कालोझण्डा !


ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा निर्माणाधीन केबलकार परियोजनालाई लिएर शनिबार फेरी स्थानीय आन्दोलनकारी र सुरक्षाकर्मीबिच झडप हुँदा दुई जना गम्भीर घाइते भएका छन्।

झडपका क्रममा धरान बस्ने एके दर्नाल र लेलेप बस्ने केसिङ कुमार लिम्बू गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि ताप्लेजुङको तमर अस्पतालमा भर्ना गरिएको छ।

राँके जुलुसमा उत्रिएका आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपछि झडप भएको हो । थप विवरण आउन बाँकी छ ।

यसैबीच राष्ट्रिय मुक्ति पार्टी (नेपाल) का अध्यक्ष राजेन्द्र महतोलाई ताप्लेजुङका स्थानीय नागरिकले कालो झण्डा देखाएका छन् ।

‘नो केबलकार समूह’ले आयोजना गरेको पदयात्रामा सहभागी बनेर फर्कँदै गरेका महतोलाई सदरमुकाममा स्थानीयले कालो झण्डा देखाएर उनको गतिविधिको विरोध गरेका हुन् ।

जिल्लाको विकासका लागि बनिरहेको केबलकारको विरोधमा विभिन्न जिल्लाबाट पुगेकाहरूको साथमा गएका महतोले जिल्लाको शान्ति सुरक्षामा खलबल पुर्‍याउनुका साथै समाज भाँड्ने काम गरेको ताप्लेजुङवासीको आरोप छ ।

महतो ‘नो केबलकार’ समूहसँग पवित्र तीर्थस्थल पाथीभरा क्षेत्रमा ‘जय पाथीभरा माता’को नारा लगाउँदै जानुको साटो मुर्दावादका नारा लगाउँदै गएको र जिल्ला र समाज भाँड्ने अभिव्यक्ति दिँदै हिँडेका कारण उनलाई कालो झण्डा देखाइएको स्थानीय सुन्दर लिम्बुले बताए ।

लिम्बुले ताप्लेजुङका नागरिक विकास र केबलकारको पक्षमा रहेकाले जिल्ला बाहिरबाट गएर विकासको विरोध र समाज भाँड्ने काममा नलाग्न सबैलाई आग्रह पनि गरे ।

प्रकाशित : २०८१ फाल्गुन १०, शनिबार २१:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ