मेयरपुत्रबाट कुटिएका विदेहका प्रशासकीय अधिकृत साहलाई कार्यालय प्रवेशमा रोक, माटो ढोगेर फर्के

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासको छोराबाट कुटिएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार साहलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ ।

गत माघ २७ मा लोकसेवा आयोगको सिफारिसमा आएकी शिक्षकलाई हाजिर गराएकै निहुँमा मेयरका छोरा रामभजन दासहले प्रशासकीय अधिकृत साहलाई कुटेका थिए । सो घटनाबारे उनले माघ २८ मा मेयर समक्ष गुनासो गर्दा उल्टै धम्की खाए । त्यसपछि उनी कार्यालय जान पाएका छैनन् ।

प्रशासकीय अधिकृत साहले माघ २८ मै ‘झोले कर्मचारी’ भन्दै ८३ जनालाई कारबाही गरेका छन् । उनले करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई बर्खास्त गरे र केहि स्थायी कर्मचारीको ग्रेड रोक्का पनि गरे ।

कारबाहीमा परेका कर्मचारीहरु आन्दोलित छन् । उनीहरु नै प्रशासकीय अधिकृत साहलाई आज कार्यालयमा प्रवेश गर्न दिएनन् । उनलाई कार्यालयमा प्रवेश गराउन र शान्ति सुरक्षा दिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटेको थियो ।

नगरपालिकाको मुख्यद्वारमै कर्मचारीहरु आन्दोलन गरिरहेका कारण आफू भित्र प्रवेश गर्न नपाएको प्रशासकीय अधिकृत साहले बताए ।

उनले भने, ‘अदालतको आदेशपछि सिडिओ साहेबले सुरक्षा दिनुभयो । तर झोले कर्मचारीहरुलाई हटाएपछि उनीहरु आन्दोलन गरिरहेका छन् । म पनि जर्वजस्ती नगरी नगरपालिकाको पवित्र माटोलाई ढोकेर टिका लगाई फर्केका छौं ।’

नगरपालिकामा काम गर्ने वनाउन र सुरक्षा दिन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाएर प्रशासकीय अधिकृत साह उच्च अदालत जनकपुरमा रिट दायर गरेका थिए ।

अदालतले फाल्गुन १३ मा दुबै पक्षलाई बोलाएर छलफल गराउन पेशी तोकेको छ भने त्यति बेलासम्म कार्यालयमा प्रशासकीय अधिकृत साहलाई पदीय दायित्व अनुसार कामकाज गर्न कुनै किसिमको अवरोध पुर्याउने कार्य नगर्नु÷नगराउनु भनी विपक्षीको नाममा आदेश पनि दिएको छ ।

प्रकाशित : 23 February 2025 5:46 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !