रिंकु सदाय मृत्यू प्रकरण- थप तीन पञ्चमाथि मुद्दा चल्ने, अदालतबाट ५ दिनको म्याद थप


लहान । सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको मृत्यू प्रकरणमा प्रहरीले थप तीन जनामाथि मुद्दा चलाउने भएको छ ।

पीडित परिवारले दिएको किटानी जाहिरी बाहेकका आठ जनालाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको थियो । तीमध्ये तीन जना पञ्चायतमा संलग्न रहेको देखिएकाले उनीहरुमाथि थप अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले घटना दबाउन र गाउँमै मिलापत्र गर्न भुमिका खेलेको देखिएकाले भगवतीपुरकै चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दासमाथि अदालतबाट सोमबार पहिलोपटक पाँच दिनको म्याद लिएको जानकारी दिए । उनले अनुसन्धानको क्रममा नियन्त्रणमा लिएको अन्य केहि व्यक्तिको संलग्नता नदेखिएपछि छाडिएको बताए ।

प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेका चन्देश्वर, रामविनोद र कमलेशमाथि पीडित परिवारले जाहिरी दिएका छैनन् । डिएसपी पासवानले जाहिरी नपरेपनि घटनामा संलग्न देखिए आवश्यक कारबाही हुने बताए । उनले भने, ‘उनीहरुमाथि पञ्चायत बसेर घटना मिलाउन नहुने सम्बन्धी मुद्दा चल्छ ।’

गत माघ २७ गते साँझ शौच गर्न निस्केको बेला रिंकुलाई छिमेकी रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले अपहरण गरी सामुहिक बलात्कार गरेका थिए । सो घटना मिलाउन पञ्चायत बसेर गाउँलेले दबाब दिएको केहि घण्टामै रिंकु आफ्नै घरमा मृत फेला परेकी थिइन् ।

प्रहरीले सुरुमा आत्महत्या दुरुत्साहन मुद्दामा छानविन अगाडी बढाएको थियो । पछि सामुहिक बलात्कार भएको रहस्य खुलेपछि पीडित परिवारले आरोपी तीन जना र पञ्चायत बसेर दबाब दिएका वडासदस्य नथुनी साहसहित पाँच पञ्चमाथि जाहेरी दिएका छन् ।
उनीहरुविरुद्ध कर्तव्य ज्यान, शरीर बन्धक, जबर्जस्ती करणी र आत्महत्या दुरुत्साहन सम्बन्धी जाहेरी गरेको प्रहरीले जनाएको छ ।

तर जाहेरी परेकामध्ये कोही पक्राउ पर्न सकेका छैनन् । स्रोतका अनुसार उनीहरु भारत भागेका छन् । डिएसपी पासवान भन्छन्- हामी खोजिरहेका छौं । छिट्टै पक्राउ पर्छन् ।

प्रकाशित : 25 February 2025 9:46 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !