राजेन्द्र महतोको पार्टीले नेताबाटै चन्दा र लेबी उठाउने : प्रधानमन्त्री भए २० हजार, वडाध्यक्ष भए ४ हजार


काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले पार्टी सञ्चालनका लागि सबै तहका नेतासंग चन्दा उठाउने भएको छ ।

सो पार्टीले केन्द्रीय कोष स्थापना तथा अर्थ संकलन अभियान र आर्थिक सहयोगको लागि आह्वान गरेको छ । त्यसका लागि आफ्नो पार्टीमै चन्दा उठाउने छ । हरेक सदस्यलाई चन्दा बुझाउन सो पार्टीले अनिवार्य गरेको छ ।

चन्दा बाहेक पार्टीमा लेबीको पनि व्यवस्था गरिएको छ । पार्टीका हरेक सदस्यले अनिवार्य लेबी बुझाउनुपर्ने छ । पार्टीका पदाधिकारीले मासिक एक हजार र केन्द्रीय सदस्यले ५०० लेबी बुझाउनुपर्छ ।

राजनीतिक समिति सदस्यले ७००, विभागका सदस्यहरूले २५० रुपैयाँ मासिक लेबी बुझाउनुपर्ने सो पार्टीले निर्णय गरेको छ । त्यस्तै सक्रिय सदस्यले वार्षिक १०० रुपैयाँ लेबी बुझाउनुपर्ने भएको छ भने प्रदेश समितिका सचिवालय सदस्य तथा कार्यकारिणी सदस्यहरूले ५०० रुपैयाँ, प्रदेश सदस्यले ३००, जिल्ला कमिटीका पदाधिकारीले ३०० र जिल्ला सदस्यले २०० रुपैयाँ मासिक लेबी बुझाउनुपर्ने नियम बनाइएको छ ।

त्यस्तै, पार्टीबाट कोही प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री बनेमा प्रत्येकले मासिक रूपमा २० हजार रुपैयाँ बुझाउनुपर्ने नियम बनाइएको छ । त्यस्तै सांसद हुनेले मासिक १५ हजार रुपैयाँ लेबीको रूपमा बुझाउनुपर्छ ।

पार्टीबाट मुख्यमन्त्री भएमा मासिक १५ हजार रुपैयाँ लेबीको रूपमा बुझाउनुपर्छ भने प्रदेश सांसदले १० हजार, समितिका सभापतिहरूले १२ हजार, जिल्ला समन्वय समितिका सदस्यले आठ हजार रुपैयाँ बुझाउनुपर्ने पार्टीले निर्णय गरेको छ ।

त्यसैगरी स्थानीय तहमा महानगरपालिकाका मेयरले १२ हजार, उपमेयर १० हजार, नगरपालिकाका मेयर १० हजार, उपमेयर पाँच हजार, गाउँपालिका अध्यक्ष आठ हजार, उपाध्यक्ष र वडाध्यक्षले चार–चार हजार रुपैयाँ पार्टीलाई बुझाउनुपर्ने नियम बनाइएको छ ।

त्यस्तै पार्टीबाट कुनै राजनीतिक नियुक्ति भएमा तलबको १० प्रतिशत बुझाउनुपर्ने प्रावधान सो पार्टीले राखेको छ । दोहोरो पदमा भएकाले पनि रकम बुझाउनुपर्ने नियम बनाइएको छ ।

प्रकाशित : 26 February 2025 8:17 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !