काठमाडौंको सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई १५ हजारसम्म जरिवाना तिराउने


काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने जोकोहीलाई ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तिराउने भएको छ ।

काठमाडौं महानगर वातावरण विभागका अनुसार घर कम्पाउन्ड तथा परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्नेजस्ता काम गरे ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तिराउने भएको हो ।

महानगरको वातावरण विभागका प्रमुख सरिता राईका अनुसार जथाभावी फोहोर फाल्दा दुर्गन्धित हुनुका साथै नागरिकको जनस्वास्थ्यमा समेत गम्भीर असर गर्ने भएकाले पूर्ण रूपमा यो कामलाई प्रतिबन्ध गरिएको हो ।

यदि काठमाडौं महानगरको आग्रहलाई बेवास्ता गरी सार्वजनिक स्थानमा फोहोर फालेको महानगरको अनुगमन टोलीले भेटे वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा (च) बमोजिम कारबाही हुने पनि स्पष्ट पारेको छ ।

यसैबीच, महानगरले फोहोर व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन ३२ वटै वडामा ६ वटा क्षेत्र निर्धारण गरी काम गर्ने भएको छ । फोहोर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउन नयाँ व्यवस्था गर्न लागिएको वातावरण व्यवस्थापन विभागको भनाइ छ ।

वातावरण विभागको प्रमुख सरिता राईका अनुसार ६ वटै क्षेत्रमा एक-एक वटा ट्रान्फर स्टेसन तयार गरी उक्त स्थानबाट फोहोरको अन्तिम व्यवस्थापनका लागि ‘ल्याण्डफिल साइट’ बञ्चरेडाँडा लगिने छ । त्यसका लागि महानगरले ३२ वटा वडालाई भौगोलिक र जनसंख्याका आधारमा क्षेत्र निर्धारण गरेको हो ।

यसका लागि काठमाडौं महानगरले उत्पादकलाई फोहोर व्यवस्थापनको जिम्मा लागाउने गरेको छ । प्रमुख राईका अनुसार फोहोरमैला व्यवस्थापन ऐन, २०६८ तथा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार फोहोर स्रोतमै वर्गीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । ।

हाल वडा नम्बर ५, १०, २४, २५, २६ र २७ मा स्रोतमै फोहोर वर्गीकरण भइरहेको छ ।

प्रकाशित : 1 March 2025 2:13 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !