मधेस झर्दा माओवादी अध्यक्ष प्रचण्ड कुर्ता पैजमामा सजिए, मातृका धोती कुर्तामा


सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रायः कोट पाइन्ट लगाउँछन् । माओवादीका अधिकांश केन्द्रीय नेताहरु पनि प्रचण्ड जस्तै ड्रेसमा हुन्छन् ।

तर तराई-मधेस जागरण अभियानका लागि मधेस झरेका माओवादी नेताहरुको ड्रेस चेन्ज देखिएको छ । उनीहरु मधेसीको पहिरनमा गाउँघर (देहात) घुमिरहेका छन् । उनीहरुको स्वागतका लागि सडकमा बनाएको स्वागतद्वारमा पनि अध्यक्ष प्रचण्डले टाउकोमा गम्छा बेरेको तस्वीर राखिएको छ ।

अभियानका क्रममा अध्यक्ष प्रचण्ड नेतृत्वको टोली शुक्रवार साँझ सिरहाको भगवानपुर आइपुगे । उनीहरु भगवानपुरमै रात्रिबास बसे । आज विहान प्रचण्डसहितका नेताहरु हुलाकी सडकमा ‘मोर्निङ वाक’ गरे । त्यतिबेला सबै ट्रयाक लगाएका थिए ।

भगवानपुरबाट अध्यक्ष प्रचण्डसहितका नेताहरु मधेसीको पहिरनमा निस्के । अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, अग्नी सापकोटा, वर्षमान पुन र जनार्दन शर्मा सेतो कुर्ता, पैजमा र गम्छामा सजिएको देखिए । मधेस प्रदेश ईन्चार्ज मातृका प्रसाद यादवले भने धोती र कुर्ता लगाएका छन् ।

प्रकाशित : 1 March 2025 2:18 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !