माओवादीलाई कमजोर पार्न रौतहटमा २९ युवाको एकैठाउँमा क्रूरतापूर्वक हत्या गरियो : प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई कमजोर पार्न रौतहट हत्याकाण्ड मच्याइएको टिप्पणी गरेका छन्।

सिरहामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै रौतहटमा २९ जना माओवादी युवाहरूलाई एकैठाउँमा क्रूरतापूर्वक हत्या गरिएको स्मरण गरे।

त्यसबारे उनको भनाइ जस्ताको त्यस्तै

०६४ को चुनावमा आइपुग्दा मधेश माओवादीमय भएको थियो। मधेश र तराईभरि पनि त्यस बेलाको अंकगणित हेर्नुभयो भने झापादेखि कञ्चनपुरसम्म अत्यधिक ठूलो संख्यामा माओवादीका उम्मेदवार विजयी भएका थिए। त्यसपछि हामीमाथि ठूला षड्यन्त्र भए, एकातिर हामीले माओवादी आन्दोलनलाई एकताबद्ध राख्न सकेनौँ।

हाम्रा पनि कमीहरू भए, हामीभित्र पनि अहंकार जन्मियो। अर्कोतिर देशभित्र र बाहिरका दलालहरू षड्यन्त्रमा लागे। त्यही प्रक्रियामा रौतहटमा भयानक हत्याकाण्ड भयो। २९ जना माओवादी युवाहरूलाई एकैठाउँमा क्रूरतापूर्वक हत्या गरियो।

महिलाहरूलाई त्यतिबेला गरेको अपमान र अत्याचार मानिसले सुन्न पनि गाह्रो हुनेगरी हत्या गरियो। त्यसपछि माओवादीप्रति भ्रम सिर्जना गर्नको लागि मधेशमा दुष्प्रचारको अभियान पनि चलाइयो।

प्रकाशित : 1 March 2025 5:26 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !