इन्फिनिक्सले ल्याउँदै सूर्यको उज्यालोबाट चार्ज हुने मोबाइल


काठमाडौं । चिनियाँ मोबाइल ब्रान्ड इन्फिनिक्सले सूर्यको उज्यालो (सोलार)बाट चार्ज हुने स्मार्टफोन बजारमा ल्याउने तयारीमा जुटेको छ ।

यी प्रविधि अहिले अवधारणात्मक चरणमा भए पनि एमडब्लूसीमा देखाइएका डेमो युनिटले पूर्ण रूपमा काम गर्ने कम्पनीले दावी गरेको छ ।

इन्फिनिक्सले यस प्रविधिलाई ‘सोलार इनर्जी-रिजर्भिङ टेक्नोलोजी’ नाम दिएको छ । यो प्रविधिले सूर्यको किरणलाई विद्युतमा परिणत गरी फोनको ब्याट्री चार्ज गर्छ । कम्पनीका अनुसार यो प्रविधिले २ वाटसम्मको चार्ज प्रदान गर्न सक्छ भने फोनलाई तातो हुनबाट समेत बचाउँछ ।

एमडब्लूसीमा कम्पनीले सौर्य ऊर्जाबाट चार्ज हुने फोनको कभर पनि प्रदर्शन गरेको छ । यो कभरले फोनको छेउमा रहेको सम्पर्क बिन्दुमार्फत फोनलाई चार्ज गर्छ । यसलाई सजिलै निकाल्न र लगाउन सकिने बताइएको छ ।

बिजुली नभएको वा आपतकालीन अवस्थामा यो कभर निकै उपयोगी हुने कम्पनीको भनाइ छ ।

इन्फिनिक्सले दोस्रो पुस्ताको रङ परिवर्तन हुने ‘ई-इङ्क डिस्प्ले’सहितको फोन पनि सार्वजनिक गरेको छ । यसअघिको संस्करणमा चार्ज गर्दा मात्र रङ परिवर्तन हुने सुविधा थियो भने नयाँ संस्करणमा फोनको ब्याट्रीबाटै रङ परिवर्तन गर्न सकिन्छ ।

प्रयोगकर्ताले विभिन्न रङ र ढाँचा छनोट गर्न सक्छन् । कम्पनीका अनुसार मौसमअनुसार रङ परिवर्तन हुने सुविधा पनि यसमा उपलब्ध छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी यो प्रविधिले काम गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले बजारमा यी प्रविधि कहिलेदेखि उपलब्ध हुनेछन् भनेर स्पष्ट जानकारी दिइसकेको छैन ।‍

– द भर्ज/टेकपाना

प्रकाशित : 4 March 2025 10:05 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !