मधेसका मुख्यमन्त्री सिंहलाई नौटंकी नगर्न कांग्रेसको चेतावनी, सोधे २८ प्रश्न


जनकपुरधाम । नेपाली कांग्रेस मधेसले मुख्यमन्त्री सतिशकुमार सिंहसमक्ष विभिन्न २९ बुँदे प्रश्न तेर्स्याएको छ ।

मुख्मन्त्रीले मधेसमा निकै स्टण्टबाजी चलाएर चर्चा बटुल्न खोजेको भन्दै कांग्रेस मधेशका प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

मुख्यमन्त्री सिंह विकास निर्माणबाट आम नागरिकको ध्यान दिग्भ्रमित बनाउनमा तल्लिन रहेको आरोप गुप्ताको छ ।

उनले प्रदेशमा भइरहेका विकास निर्माणका काममा भइरहेका ढिलाइ, जनताहरूलाई भइरहेको सास्ती, तस्करहरूको हालिमुहाली बढ्नु तथा बिचौलिया र भ्रष्टहरू सलबलाइरहँदा त्यसलाई रोक्न वर्तमान मुख्यमन्त्री असफल भएको आरोप पनि लगाएका छन् ।

आफ्नै समर्थनमा मुख्यमन्त्री बनेका सिंह गठबन्धनको धर्मलाई निर्वाह नगरी आफ्नै पार्टीका मन्त्रीद्वारा आर्थिक लेनदेन गरेर योजनाहरू वितरण गर्नेलाई कारबाही नगरी उन्मुक्ति दिएको आरोपसमेत कांग्रेसले लगाएको छ ।

जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सि‌ंहले कानुनी रूपमा दर्ता नभएका अस्पतालहरू बन्द गराउने अभियान चलाएका छन् । जसलाई सत्ता साझेदार कांग्रेसले ‘सस्तो लोकप्रियता कमाउने नाैटंकी’ भनेकाे छ।

यस्ता छन् मुख्यमन्त्रीलाई कांग्रेस मधेशको प्रश्नहरूः–

१. नेपाल भारतको सीमानामा तस्करी किन बन्द हुँदैन ?

२. यहाँ निमुखा गरिबहरूले निःशुल्क स्वास्थ्य उपचार किन पाउँदैनन् ?

३. कमिसनमा बजेट वितरण कहिले बन्द हुन्छ ?

४. मधेस प्रदेशमा अहिलेसम्म दुई प्रतिशत पनि बजेट खर्च नहुनुको मुख्य कारण के ?

५. मधेस प्रदेशको सुरक्षा व्यवस्थामा कमजोरी हुनुको मुख्य कारण के ?

६. मधेस प्रदेशका सरकारी अस्पतालहरूमा गरिबहरूले समयमा उपचार पाउँदैन किन ?

७. प्रदेश अस्पतालमा नगर तथा गाउँघरको सरकारी स्वास्थ्य कार्यालयमा औषधिहरू पर्याप्त मात्रामा उपलब्ध छैनन् किन ?

८. अस्पतालमा अस्ति मोबाइलमा कुरा गर्नुभयो । को व्यक्तिसँग कुराकानी गरेर नाम सार्वजनिक नगर्नुकाे कारण के ?

९. कानुन विपरीत निजामती कर्मचारीको सरुवा बढुवामा चलखेल भइरहेको किन ?

१०. मधेस प्रदेशमा दाइजो प्रथाको कारण दिनप्रतिदिन हाम्रा चेलीहरु अनाहकमा ज्यान गुमाउन बाध्य हुने अवस्था कसरी बन्याे ?

११. मधेस प्रदेशमा राजस्व संकलन किन भइरहेको छैन ?

१२. मधेस प्रदेशमा रहेका र अहिले बनाइएको मन्त्रालयहरू व्यवस्थापन किन छैन ?

१३. मधेस प्रदेश सरकारले अहिलेसम्म गरेको काम कर्तव्यको प्रगति प्रतिवेदन सार्वजनिक किन गरिएकाे छैन ?

१४. गरिब, दिनदुखी, न्यून आय भएका कमैयाहरू खान पाइरहेका छैनन्। त्यसको व्यवस्थापन कहिले र पुनर्स्थपाना कहिले हुन्छ ?

१५ .मधेस प्रदेशमा किसानहरूले समय–समयमा रासायनिक मल प्राप्त गर्दैनन् किन ?

१६. मधेस प्रदेश सरकारले खेतीयोग्य जग्गाहरूमा किसानहरूको लागि सिँचाइ व्यवस्थापन किन गरिरहेको छैन ?

१७. मधेसका गाउँघरमा बसोबास गर्ने नागरिकहरू शुद्ध खानेपानीबाट कहिलेसम्म बञ्चित हुने ?

१८. आजभोलि नागरिकले सजिलोसँग बैंकबाट ऋण पाइरहेको छैनन् । त्यसको कहिले व्यवस्थापन गर्ने ?

१९. मधेस प्रदेशमा अलपत्र रहेका योजनाहरूलाई कहिले सम्पन्न गर्ने हो ?

२०. मधेस प्रदेशमा विश्वविद्यालय र गुणस्तरीय विद्यालयहरू कहिले बनाउने हो ?

२१. मधेस प्रदेशमा निष्पक्ष प्रतिस्पर्धा नगराई कमिसनको चलखेल गरेर विभिन्न राजनीतिक पदहरूमा नातावाद कृपावादलाई नियुक्ति परिपार्टी कहिले अन्त्य हुन्छ ?

२२. मधेस प्रदेशभित्र सरकारी डाक्टरहरूले आ–आफ्ना निजी प्राइभेट अस्पतालहरू सञ्चालन गरेकाहरूमाथि कारबाही गरी पदमुक्त कहिले गर्ने ?

२३. मधेस प्रदेशमा भइरहेको बालविवाह रोकथाम गर्ने याेजना के छ ?

२४. मधेस प्रदेशको सबै जिल्लालाई समृद्ध घोषणा कहिले गर्ने हो ?

२५. मधेस प्रदेश सरकारका मुख्यमन्त्रीले आम जनतासँग उपभोक्ता समितिमा काम गर्न दलाल मार्फत लिइरहेको १० प्रतिशत कमिसन रकम कहिले बन्द गर्ने ?

२६. चालु आर्थिक वर्ष ०८१/०८२ मा विनियोजित रकमहरूको कार्यक्रमहरू कहिलेसम्म सञ्चालनमा आउने तथा त्यसको जिम्मेवारी कसले लिने ?

२७. मधेस प्रदेशको सरकारी अस्पतालहरूको डाक्टरहरूलाई राम्रोसँग व्यवस्थापन र योग्य, सक्षम र अनुभवी कहिले ल्याउने ?

२८. निजी अस्पतालहरूमा काम गर्न सरकारी अस्पतालका डाक्टरहरूलाई कारबाही नगर्ने तर जताततै गएर सस्तो लोकप्रियता कमाउन चेकजाँच गरी नौटंकी मात्र गर्ने आफ्नो सरकारी अस्पतालहरूलाई व्यवस्थापन कहिलेसम्म गर्ने हो ?

प्रकाशित : २०८१ फाल्गुन २२, बिहीबार ०७:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ