गोलबजारमा प्रदुषण फैलाउँदै महेशको राईस मिल, आर्थिक प्रलोभनले नियामक निकाय मौन !


मुकेश कुमार यादब/ सिरहा । सिरहामा नियामक निकायको फितलो निगरानी तथा अनुगमनका कारण राईस मिलको धुवाँ धुलोले सर्वसधारण आजित भएका छन् । गोलवजार नगरपालिका ४ स्थित माँ धमिनी एग्रो राईस मिलको प्रदूषणले स्थानिहरुलाई सास्ती खेप्नु परेका हुन् ।

धमिनी लघु उद्योग (चामल मिल)बाट निस्केको धुवाँ, धुलो र कालो खरानीका कारण खाना पकाउन समेत समस्या भईरहेको स्थानीयहरु बताउँछन् । उद्योगबाट निस्कने कालो धुवा र कणहरुका कारण भान्सा, ओछ्यान, खाना, लत्ताकपडादेखि घरभरी दैनिक रुपमा फैलिने गरेको उनीहरुको गुनासो छ ।

मिलबाट निस्किने धुवाँ र धुलो नियन्त्रणको लागि पछिल्लो एक दशक देखि उद्योगका सञ्चालक स्थानिय महेश साह (कोकवा) र सम्वन्धीत निकायलाई जानकारी गराएपनि यो समस्याको ठोस निकास निकाल्न नसकेको स्थानीय सुमेश कुमार साहले बताए ।

उनले भने, ‘हामी स्थानियहरुले पटक–पटक नगरपालिका, स्थानीय प्रहरी प्रशासन लगायत सरोकारवाला निकायलाई जानकारी गराउँदा पनि वास्ता गरेनन् । उनले थपे, ‘राइस मिलबाट निस्केको कालो कणहरु र धुवाँ, धुलोका कारण म लगायत घरको बच्चाहरुलाई समेत आँखामा समेत समस्या भएर करिव हजारौ रुपैया खिर्चिसकेको छु। हामी स्थानियहरुले कुनै निकाय बाँकी राखेका छैनौ । नियमनकारी निकायले चाँडै नै हाम्रो समस्या समाधान गरोस् ।’

यस्तै अवस्था रहिरहे हामीले बाध्य भएर अव मिलमै ताला लगाउने स्थानिय अताबुल रहमानले चेतावनी दिए । उनले भने, ‘हामीले जानेको, चिनेको सवै निकायलाई हाम्रो दुःख सुनायौं, नियन्त्रण गर्न÷गराईदिन अनुरोध गर्यौं । कसैबाट कुनै ठोस पहल भएन । यस्तै अवस्था रहिरहे हामी मिलको गटमै ताला लगाउन बाध्य हुन्छौं ।’

‘चामल मिलमा बाल्ने भुसका कालो मसिनो धुलो र कालो धुँवाले हामीलाई घरमै बसी नसक्ने अवस्था बनायो । छतमा सुकाएको लुगामा कालो धुलो टाँसीने, खानामा पर्ने, ओछ्यानमा कालो धुलो टाँसिएर दिनहुँ फोहर हुने गरेको छ,’ स्थानीय सोभित कुमार साहले भने, ‘यतिमात्र हैन बारीमा लगाएको साग सब्जीमासमेत कालो धुलो टाँसिएर हेरी नसक्नुको भएको छ। नियन्त्रणको लागि मिलका सञ्चालक महेश साहलाई पटक पटक अनुरोध गर्यौं, विभिन्न बहाना बनाएर टार्दै आएको छ ।’

धुलोका कारण बस्न नसक्ने भएपछि घर, जग्गा जमीन नै बेच्ने सम्म हुन थालेको स्थानीयहरु बताउँछन्। धुलो र धुवाँले बस्न नै नसकीने अवस्था आएपछि मिल नजिकै घरभएका मो। इम्तियाज खान घर बेचेर ठाउँ सरेको उनका छिमेकी मो। जाहिर खानले बताए। उनले भने, ‘छत वडहार्नु पर्छ, बरण्डा, भरभित्र खरानी पसेर वस्न नसक्ने अवस्था हुन्छ। दिनहुँ घर, बरन्डा पानीले पखाल्नु पर्छ। हामीलाई यहाँ बस्न गाह्रो भईसकेको छ।’

मिल संचालक महेशलाई तपाईको मिलबाट निस्केको कालो कणका कारण स्थानियहरुलाई स्वास्थ्यमा समेत आसर पर्ने गरेको छ । तपाईले प्रदुषण नियन्त्रण गर्न के कती प्रकृयाहरु अपनाउनु भएको छ ? भनी जिज्ञासा राख्दा उनले भने, ‘यो क्षेत्रमा पहिले घर थिएन् । त्यासैले त्यतीकै पनि चलाईरहेको थियो । मिलवाट निस्केको धुलोले वास्तवमा स्थानियहरुलाई समस्या झेल्नुपरेको छ। म धुलो व्यवस्थीत गर्न आवश्यक प्रकृया अगाडी बढाई सकेको छु ।’

गोलबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सरोज कर्णले लामो समयसम्म कालो धुँवाको सम्पर्कमा रहँदा मानिसमात्र हैन पशुमा पनि कुप्रभाव पर्ने बताए। धुलो धुवाँका कारण स्वाँसप्रस्वास सम्वन्धि विभिन्न रोग लाग्नुको साथै, आँखा र छालामा पनि समस्या आउने बताए । स्वास्थ्य प्रमुख कर्णले थपे लामो समयसम्म यसको सम्पर्कमा रह्योभने क्यान्सर सम्म हुन सक्छ ।

सन्तोष, सोभित, सुमेश, जाहिरमात्र हैन यहाँका करिव दुई सयभन्दा बढी घरपरीवारले यहि समस्या झेलिरहेका छन् । राईस मिल संचालक महेशले नियामक निकायलाई आर्थिक प्रभाव र राजनितिक दवावमा राखेर निर्वाध रुपमा २४ सैं घण्टा मिल चलाउने गरेको स्थानीयको आरोप छ ।

प्रकाशित : २०८१ फाल्गुन २४, शनिबार १७:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ