गोलबजारमा अवैध उत्खनन्, पत्रकार गणेश र विक्रमलाई ज्यान मार्ने धम्की


सिरहा । गोलबजार नगरपालिका १ मुक्सारमा भइरहेको अवैध उत्खनन्को समाचार संकलन गर्न गएका पत्रकार महासंघ सिरहाका पूर्व उपाध्यक्ष गणेश साह र प्रशिक्षार्थी पत्रकार  विक्रम महरालाई तस्करहरुले ज्यान मार्ने धम्की दिएका छन् ।

जेसिभि र दर्जनौ ट्रिपर प्रयोग गरेर बिना इजाजत र राजस्व छलेर ऐलानी पर्ती सार्वजनिक जग्गामा उत्खनन्  गरी रहेको सूचनाको आधारमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुलाई गुञ्जा कन्सट्रकसन गोलबजारका सञ्चालक विजय साह र नाम नखुलेका उनका एक सहयोगीले ज्यान मार्ने धम्की दिएको पीडित पत्रकार साहले बताएका छन् ।

‘जंगलको बीचमा छौं, यता कसले आउन भन्यो ?  उत्खनन्को रिपोर्ट नगर्नु । नत्र मारेर यतै बालुवामा पुरी दिन्छौ भनेर धम्की दिएका छन्,’ पीडित पत्रकार महराले भने, ‘हामीलाई धेरै गाली गलौज पनि गरे । सुरक्षा खतरा उत्पन्न भए पछि हामीले प्रहरीले बोलायौं ।’

इलाका प्रहरी कार्यालय गोलबजारबाट गएका दुई जना प्रहरीकै सामुन्ने पनि हामीलाई गाली गलौज गर्दै धम्की दिएको पत्रकार साहले बताए । पत्रकारद्वयले ज्यान सुरक्षा गरी पाउ भनी प्रहरीमा निवेदन दिने बताएका छन् ।

उत्खनन् स्थलमा पुग्दा गुञ्जा कन्सट्रक्सनको स्वाम्तिवमा भएको जेसिभी एक थान र एक दर्जन ट्रिपरमा ग्राभेल लोड भइरहेको थियो । प्रहरी र पत्रकार पुग्नासाथ १० वटा ट्रिपर र जेसिभी भगाएको तर दुई थान ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएको प्रदेश २ –०३–००१ क १३१७  र स १ ख ८३५ नं. को ट्रिपर गोलबजार नगरपालिकामा बुझाएकोछ ।

गुञ्जा कन्सट्रकसन गोलबजारका सञ्चालक विजय साहले गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठ तथा प्रहरी चौकी मुक्सारका इन्चार्ज गेनालाल साहलाई मिलाएर विगत तीन वर्षदेखि सार्वजनिक जग्गाहरुबाट अवैध उत्खनन् गर्दै आएका छन् ।

नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीलाई पनि मिलाएको र बिना रोकटोक उत्खनन् गरिरहेको स्थानीयहरुको आरोप छ ।  वडा नं. ३ जमदह, मुसहर्निया र वडा नं. १ मुक्सारको विभिन्न स्थानमा अवैध रुपमा उत्खनन् गरी तस्करी गरिरहेका छन् । यस क्षेत्रमा दर्जनौ डाँडा भत्काएर माटो, ग्राभेल , गिटी बालुवा र ढुंगा तस्करी गर्ने गरेका छन् ।

वातावरणीय प्रभाव मूल्याङ्गन नगरी , इजाजत नलिई तथा राजस्व नतिरी गुञ्जा कन्सट्रक्सनले हजारौं वर्गमिटर उत्खनन् गरेका छन् । मेयर र प्रमुख प्रशासकीय अधिकृत तथा प्रहरी समेत मिलाएर अवैध उत्खनन् गर्दा स्थानीय स्तरमा ठूलो वातावरणीय क्षति पुगेको स्थानीय भेषराज ठकुरीले बताए ।

स्थानीय रामबहादुर राय भन्छन् विजय साहलाई कसैले केही गर्न सक्दैन । यिनी शक्तिशाली ग्राभेल तस्कर हुन् । दिन रात यिनको दर्जनौ ट्रिपर उत्खनन् र ढुवानीमा लागि रहेको हुन्छ । न राजस्व तिर्छन् न इजाजत लिन्छन् । नगरपालिका र सुरक्षा निकाय यिनको मुठ्ठीमा छ । दर्जनौ बाउन्सर पालेका छन् । यिनको ट्रिपर आतंकले स्थानीयको जीवन संकटमा परेको छ । वडानं. ३ र १ मा यिनले सैकडौ खाडल बनाएका छन् ।

यस सम्बन्धमा मेयर श्रेष्ठसँग बुझ्न खोज्दा उनले उत्खनन् भइरहेको बारे आफूलाई थाहा नभएको बताए । प्रमुख प्रशासकीय अधिकृत पुरीको फोन स्वीच अफ भएको थियो । यसबारे चौकी इन्चार्ज साहसँग बुझ्न खोज्दा उनले म आउनु भन्दा पहिलेदेखि नै उत्खनन् भइरहेकाले कारबाही गर्न नपाएको बताए ।

प्रकाशित : 9 March 2025 8:00 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !