सीके राउतले चढ्दै आएको गाडी किन्न ७० लाख दिएको छु, त्यो गाडी फिर्ता गरोस् : सुरेन्द्र यादव


जनकपुरधाम । जनमत पार्टीको केन्द्रीय समितिको बैठक आजबाट सुरु भएको छ । तर बैठक अगाडी नै केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई स्पष्टिकरण सोध्दै निलम्बन गरेपछि पार्टीको नाममा ठूलो रकम हिनामिना भएको रहस्य खुलेको छ ।

निलम्बित कोषाध्यक्ष यादवले सीके राउतले चढ्दै आएको स्कार्पियो गाडी फिर्ता मागेका हुन् । उनले गाडी खरिद गर्न आफूले सीके राउतलाई ७० लाख रुपैया दिएको दावी गर्दै उक्त गाडी फिर्ता मागेको छन् ।

उनले भने, ‘त्यो गाडी पनि सिके राउतको नाममा छैन, अरु कसैको नाममा छ । तर त्यसमा ७० लाख रुपियाँ आफूले दिएको छु ।’ राउतले प्रहरमिा थुन्न लगाउने धम्की समेत दिएको पनि उनले बताए ।

जनमतको केन्द्रीय अनुशासन समितिले हिसाब माग्दा नदिएकोसहितका चार बुँदै आरोप लगाउँदै कोषाध्यक्ष यादवलाई सात दिनभित्र स्पष्टिकरण मागेको छ । साथै स्पष्टिकरण प्रक्रियाभरका लागि निलम्बन गरिएको छ ।

कोषाध्यक्ष यादव निलम्बित भएपछि सीके राउतको कतूत बाहिर ल्याएका छन् । राउतलाई पटक पटक गरी ५ करोड बढी रुपैयाँ दिएको र सोको हिसाब माग्दा केन्द्रीय समिति बैठक बस्नु अगाडी नै कारबाही गरेको उनले बताएका छन् ।

‘पार्टीभित्र छलफल गरेर मलाई कुरा राख्न दियोस् वा जनताको बिचमा मलाई कुरा राख्न दियोस् कहाँ कहाँ हिसाब छ सबै दिन्छु’, उहाँले भन्नुभयो, ‘मेरो दायित्वमा रहेको हिसाब म दिन्छु सिके राउतको दायित्वमा रहेको हिसाब उहाँले दियोस् कुरा क्लियर छ ।’

उनले संगठनमा लागेदेखि प्रत्येक महिना एक लाख, दुई लाख कहिले काही पाँच लाखसम्म दिएको दावी गरेका छन् । उनको भनाई छ, ‘मैले उहाँ (सीके राउत)लाई रकम दिएको छु । त्यो कहाँ खर्च भएको छ ? कसरी खर्च भएको छ ? त्यसको हिसाब दिनुपर्छ कि पर्दैन् ? हिसाब दिन किन मान्नु भएको छैन ? त्यही हिसाब माग्दा उहाँले पार्टीबाट कारवाही गर्नुभएको छ ।’

स्रोतका अनुसार जनकपुरधाममा सीके राउतले जग्गा किनेर बनाएको घरमा पनि यादवको लगानी छ ।

प्रकाशित : 9 March 2025 2:11 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !