मधेसमा योजना खरिदविक्रीबारे काँग्रेसको चासो, आवश्यक कदम चाल्ने चेतावनी


जनकपुरधाम । मधेश सरकारको योजना खरिदविक्री भइरहेकोबारे सत्तारुढ नेपाली काँग्रेसले चासो देखाएको छ । मन्त्रीले नै योजना खरिदविक्रीमा संलग्न रहेको समाचार बाहिरिएपछि काँग्रेसले सो विषयमा चासो देखाउदै आवश्यक कदम चाल्ने चेतावनी दिएको हो ।

काँग्रेस मधेश संसदीय दलका नेता कृष्ण यादवले आज विज्ञप्ती जारी गर्दै योजना खरिद विक्री भइरहेको विषयमा आइरहेको समाचारको विषयमा ध्यानाकर्षण भएको जनाएका छन् । उनले योजना खरिदविक्री जस्ता विकृत क्रियाकलापको साक्षी भएर बसिरहन बाध्य नरही काँग्रेस सम्बन्धित पक्षसँग उचित छलफल गरी निर्णय लिने चेतावनी समेत दिएका छन् ।

‘यतिबेला विभिन्न सञ्चारमाध्यमहरुमा आइरहेका समाचारमा के कति सत्यता छ भन्ने विषयमा एक जिम्मेवार दलको हैसियतले मेरो ध्यान केन्द्रीत भएको छ’, उनले विज्ञप्तीमा भनेका छन्, ‘ती समाचारहरुले गरेको संकेत सही हो भने यस्ता गतिविधिहरुमा नेपाली काँग्रेस कुनै पनि रुपमा संलग्न रहेको स्पष्ट पार्न चाहन्छु ।’

सरकारी बजेटको दुरुपयोग भइरहेको अवस्था छ भने अत्यन्तै गम्भिर भएर यस्ता विषयमा चासो लिन र तत्काल सुधारका लागि आवश्यक कदम चाल्न सत्ता गठबन्धन दलको हैसियतले काँग्रेसको तर्फबाट उनले सरकारलाई सचेत गराएका छन् ।

चालु आर्थिक वर्षको बजेटमा खुल्ला प्रतिस्पर्धा (टेण्डर)बाट मात्र विकास निर्माणको काम गर्ने/गराउने उल्लेख गरिएको थियो । तर पछि ५० लाखसम्मको योजना उपभोक्ता समितिबाटै सञ्चालन गर्नेगरी बजेट संशोधन गरियो ।

अहिले भौतिक पूर्वाधार कार्यालयहरुमार्फत मन्त्रीले कमिशन लिएर कार्यकर्ता र ठेकेदारलाई योजनाको चिट्टी बाँड्ने गरिएको छ । स्रोतका अनुसार मुख्यमन्त्री सतिश कुमार सिंहले साँसदलाई ५ देखि ८ करोडसम्मको योजना बाँडेका छन् ।

कमिशनमा योजना खरिदविक्री भइरहेको समाचार आएपछि सत्तारुढ काँग्रेसको ध्यानाकर्षण भयो । तर मुख्यमन्त्री सिंह अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित : 9 March 2025 5:35 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !